
फाइल फोटो
काठमाडौं, भदौ ८ । सत्ता साझेदार दल नेपाली कांग्रेसलाई सरकारमा सहभागी हुन बाँकी मन्त्रीको नाम चयन सकस देखिएको छ ।
बुधबार मन्त्रिपरिषद बिस्तार गर्ने भनिएपनि कांग्रेसले अहिलेसम्म मन्त्री हुनेहरुको नाम चयन गर्न सकेको छैन ।
१३ मन्त्रालय पाएको कांग्रेसले अब ११ मन्त्रीका लागि नाम चयन गर्नुपर्नेछ । तर, यसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भामगबन्डा मिलेको छैन ।
स्रोतकाअनुसार वरिष्ठ नेता पौडेलले शेखर कोइरालाबाहेक आफ्नो तर्फबाट पाँचजनालाई मन्त्री बनाउनुपर्ने जिकिर गरेका छन् । तर, देउवा भने कोइरालासहित चारओटा मन्त्रालयमात्र पौडेल पक्षलाई दिन तयार भएका छन् ।
पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले मन्त्री चयनका विषयमा सभापतिसँग छलफल नै नभएको भन्दै आफ्नो पक्षको सम्मानजनक सहभागिता भएमात्र सरकारमा जानेको नाम पठाउने जानकारी दिए ।
यता, सभापति देउवाले भने पौडेलसँग चार मन्त्रीको नाम मागेका छन् । देउवा र पौडेल दुबैले सरकारमा पठाउनेहरुको नाम भने चयन गर्न अझै सकेका छैनन् ।
देउवा पक्षबाट थप मन्त्री बन्नेमा अर्जुननरसिंह केसी, बालकृष्ण खाँण भने पक्का जस्तै भइसकेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार उपचारका लागि सिंगापुर जाने कार्यक्रम भएकाले त्यसअघि नै कांग्रेसबाट हुने सबै मन्त्रीलाई शपथ गराउने कार्यक्रम छ ।
मन्त्रीको टुंगो लगाएपछि पार्टीमा रिक्त पदाधिकारी विभागलाई पूर्णता दिने तयारी देउवाको छ ।
प्रतिक्रिया दिनुहोस्