ट्याक्सी दर्ताको गोलाप्रथा दुई महिनापछि, १५०० ट्याक्सीका लागि डेढ लाखको आवेदन • Image Khabar Image Khabar


ट्याक्सी दर्ताको गोलाप्रथा दुई महिनापछि, १५०० ट्याक्सीका लागि डेढ लाखको आवेदन


Imagekhabar
९ भाद्र २०७३, बिहीबार ०१:०८

ट्याक्सी दर्ताको गोलाप्रथा दुई महिनापछि, १५०० ट्याक्सीका लागि डेढ लाखको आवेदन

काठमाडौं, भदौ ८ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन दुई महिनापछि गोलाप्रथा हुने भएको छ ।

गत साउन २ देखि यही भदौ ५ गतेसम्म दर्ता भएका निवेदनको जाँच गरी तीनपुस्तेसहितको सूची प्रकाशनको प्रक्रिया पूरा गर्न दुई महिना लाग्ने भएकाले त्यसपछिमात्र गोलाप्रथाबाट छनोटको प्रक्रिया सुरु हुने विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले राससलाई बताए ।

‘सोचेभन्दा धेरै बढीले आवेदन दर्ता गराएकाले यसको जाँचका लागि पनि समय लाग्नेछ, जाँचपछि भूकम्पपीडित नभए तिनको आवेदन खारेज हुन्छ, पीडितले पनि एकभन्दा बढी निवेदन दर्ता गराए त्यो पनि खारेज गरिनेछ’–उनले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार साउन ५ गतेदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो ।

भूकम्पपीडितले दर्ता गर्न पाउने गरी वि.सं. २०७२ जेठ २८ र सोही वर्षको चैत २१ को मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको मन्त्रालयले जनाएको छ ।

ट्याक्सी दर्ताका लागि साउन ५ देखि भदौ २ गतेसम्मको समय तोकिएको थियो । भदौ २ गते र त्यसपछि लगातार दुई दिन सार्वजनिक बिदा परेकाले आइतबार आवेदन दिने अन्तिम मिति थपिएको थियो ।

भूकम्पपीडित परिचयपत्र पाएकालाई अहिलेकोभन्दा गुणस्तर र क्षमता कम नहुने गरी एक हजार ५०० ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन विभागले आवेदन खुलाएको हो ।

भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौं, ललितपुर र भक्तपुरका भूकम्पपीडित परिचयपत्र पाएकाले आवेदन दर्ता गराएका हुन् ।

निवेदन दर्ताको अन्तिम मिति आइतबारसम्म एक लाख ४७ हजार १६९ ले आवेदन दर्ता गराएको यातायात व्यवस्था कार्यालय, साना–ठूला सवारी, बाग्मतीका कार्यालय प्रमुख तिलक पौडेलले जानकारी दिए ।

आवेदनका लागि प्रत्येक आवेदकबाट रु १०० का दरले रु एक करोड ४७ लाख १६ हजार ९०० राजस्व उठेको कार्यालयले जनाएको छ ।

१४ वर्षपछि गत वर्ष विभागले एक हजार ८०० ट्याक्सी दर्ता नम्बर गोलाप्रथाद्वारा छनोट गरी आवेदकलाई बाँडेको थियो ।

देशभरका नागरिकबाट आवेदन दर्ताका लागि सूचना प्रकाशित गरिएकामा ८ हजार ५०० लेमात्र आवेदन दिएको विभागले जनाएको छ । त्यसबेला आवेदन शुल्क रु एक हजार तोकिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्