५ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025


पश्चिमा संस्कृतिको दबदबाः भजन संस्कृति लोप हुँदै


0
Shares

-नवीनराज कुइँकेल/ईमेज

लमजुङ । पछिल्लो समय पश्चिमा संस्कृतिको दबदबा बढ्दै जाँदा नेपाली संस्कृति ओझेलमा पर्दै गएका छन् ।

मौलिकपना बोकेका यस्ता संस्कृति संरक्षणमा युवा पुस्ता सजग नहुँदा पुरानो पुस्ता चिन्तित बन्न थालेको छ ।

पुजापाठ तथा धार्मिक कार्यक्रमहरुमा भजन, चुट्का, बालन गाउँने र विभिन्न किसिमका  नृत्य प्रदर्शन गर्ने प्रचलन धेरै पहिलेदेखि चल्दै आइरहेको छ ।

तर पछिल्लो समय यो संस्कृति ओझेलमा मात्र परेको छैन बिस्तारै लोप हुने स्थितिमा पुगेको छ ।

शिवरात्री, बालाचतुर्दशी, हरिबोधनी एकादशी, सत्यनारायण पुजा लगायतका धार्मिक उत्सबमा आयोजना गरिने भजन कृतनबाट पुण्य मिल्ने लमजुङका स्थानीय चन्द्रकान्त पौडेलको विश्वास छ ।

भजन कृतनमा पौराणिक कथाका पात्रहरुको महिमा तथा चरित्रलाई वर्णन गरी भजनको माध्यमबाट व्यक्त गरिन्छ ।

देवीदेवताको गुणगानमा केन्द्रित यस्ता भजनकृतनको रौनकले मनमा शान्ति मिल्ने र दिन कटाउन समेत सजिलो हुने गरेको बुढापाकाको अनुभव छ ।

तर पछिल्लो पुस्ता यसप्रति उदासीन हुँदा भजन संस्कृतिकै लोप हुने हो कि भन्ने चिन्ता अर्का स्थानीय कुलप्रसाद पौडेलको छ ।

वरपर छरछिमेकका मानिसहरु जम्मा भएर धार्मिक भाव झल्किने भजन गाउँदै एकअर्कामा सुखदुख समेत साटासाट गर्दा बैग्लै आनन्दको महसुस हुने गरेको स्थानीय बताउँछन् ।

लोकसाहित्यको महत्वपूर्ण पक्ष मानिने भजन सस्कृतिलाई संरक्षण गर्न युवा पुस्ताले पनि तदारुकता देखाउनुपर्ने सरोकारवालाको भनाइ छ ।

पछिल्लो समयमा उत्सव महोत्सव तथा विशेष समारोहहरुमा भजन सस्कृतिका झलकहरु देखाइने गरिन्छ ।

हाम्रो मौलिकपनालाई बोकेका यस्ता संस्कृतिलाई संरक्षण गर्नु सबैको दायित्व रहेको सरोकारवाला बताउँछन् ।