
काठमाडौं, भदौ १० । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी हभएका मन्त्रीहरुको कार्यविभाजन तोकिएको छ ।
राष्ट्रपति कार्यालयकाअनुसार सीतादेवी यादव शान्ति तथा पुनःनिर्माण, डा. प्रकाशशरण महत परराष्ट्र, अर्जुननरसिंह केसी सहरी विकास, बालकृष्ण खाँण रक्षा, सूर्यमान गुरुङ श्रम तथा रोजगार, जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गगनकुमार थापा स्वास्थ्य तथा जनसंख्या, केशवकुमार बुढाथोकी समान्य प्रशासन, दीपक गिरी सिँचाइ, रोमीगौचन थकाली वाणिज्य, नवीन्द्रराज जोशी उद्योग, हृदयराम थामी सहकारी तथा गरिबी निवारण र शंकर भण्डारी वन तथा भू–संरक्षणमन्त्री हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।
शपथग्रहणमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको सहभागिता रहेको थियो ।
कांग्रेसका कोषाध्यक्षमा निर्वाचित यादव पहिलोपटक मन्त्री बनेकी हुन् ।
यसैगरी, कांग्रेसका केन्द्रीय सदस्य शाही, थापा, गिरी, जोशी, थामी, भण्डारी पहिलोपटक मन्त्री बनेका हुन् ।
यसअघि केसी, डा. महत, खाँण, गुरुङ, बुढाथोकी र गुरुङले मन्त्री पदको अनुभव सम्हालिसकेका छन् ।
कांग्रेसका तर्फबाट यसअघि उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा विमलेन्द्र निधि र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रमेश लेखकले कार्यभार सम्हालिसकेका छन् ।
वर्तमान मन्त्रीमन्डलमा कांग्रेसका तर्फबाट १५ जना सहभागी छन् । रासस
प्रतिक्रिया दिनुहोस्