सीतादेवी यादवः शान्तिमन्त्री, कांग्रेस कोषाध्यक्ष, सहिदपत्नी, यस्तो छ यात्रा • Image Khabar Image Khabar


सीतादेवी यादवः शान्तिमन्त्री, कांग्रेस कोषाध्यक्ष, सहिदपत्नी, यस्तो छ यात्रा


Imagekhabar
१० भाद्र २०७३, शुक्रबार २२:०३

सीतादेवी यादवः शान्तिमन्त्री, कांग्रेस कोषाध्यक्ष, सहिदपत्नी, यस्तो छ यात्रा

काठमाडौं, भदौ १० । विगतको सशस्त्रद्वन्द्वबाट क्षति भएका भौतिक पूर्वाधारको पुनःनिर्माण हुन नसकेकामा शान्ति तथा पुनःनिर्माण मन्त्रालयका कर्मचारीले नवनियुक्त मन्त्रीको ध्यानार्कषण गराएका छन् ।

नवनियुक्त मन्त्री सीतादेवी यादवको सम्मानमा शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव सर्वोजितप्रसाद यादवले सो ध्यानार्कषण गराएका थिए ।

मन्त्रालयमा मन्त्रीको पदबहाली भएलगत्तै आयोजित कार्यक्रममा सचिव यादवले दुईतिहाइ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण हुन बाँकी रहेको बताए ।

१० वर्ष पहिले २०६३ मंसिर ५ गते विस्तृत् शान्ति–सम्झौता भइ माओवादी लडाकूको नेपाली सेनामा समायोजन, द्वन्द्वपीडित जनताको उपचार, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्ने उद्देश्यले शान्ति तथा पुनःनिर्माण मन्त्रालयको गठन भएको थियो ।

मन्त्री यादवले कर्मचारीलाई निर्देशन दिँदै कामप्रतिको ढिलासुस्ती र अपारदर्शीताले लोकतन्त्रलाई कुरुप बनाउने हुँदा त्यस कार्यतर्फ सजग हुन आग्रह गरिन् ।

उनले लोकतन्त्रमा सानो र ठूलो नभइ कामले सानो र ठूलो छुट्ट्याउँछ भन्दै परिणाम प्राप्तिका लागि सदैव कामप्रति चनाखो भइ काम गर्नुपर्ने समय आएको बताइन् ।

१० वर्ष पहिले चैत १८ गते शान्ति सचिवालयको खारेजी र मुलुकमा दिगो शान्ति कायम गर्ने अभिप्रायबाट स्थापित सो मन्त्रालयअन्तर्गत् रु ३५ अर्ब बराबरको क्षतिग्रस्त भौतिक पुनःसंरचनाको निर्माण हुनुपर्नेमा हालसम्म रु ९ अर्बबराबरका क्षतिग्रस्त संरचनाको पुनःनिर्माण भएका छन् ।

नेपाली कांग्रेसको काठमाडौंमा सम्पन्न १३औं महाधिवेशनबाट नेपाली कांग्रेस पार्टीको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित नवनियुक्त शान्ति तथा पुनःनिर्माणमन्त्री सीतादेवी यादव सहिद चन्द्रनारायण यादवकी पत्नी हुन् ।

२०५७ असार ५ गते चन्द्रनारायण यादवको तत्कालीन माओवादीले हत्या गरेपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएकी छन् । रासस

प्रतिक्रिया दिनुहोस्