पदबहाली गरेकै दिन सिँचाइमन्त्रीले भने–‘कर्मचारीमा पनि अनुशासन देखिरहेको छैन’ • Image Khabar Image Khabar


पदबहाली गरेकै दिन सिँचाइमन्त्रीले भने–‘कर्मचारीमा पनि अनुशासन देखिरहेको छैन’


Imagekhabar
१० भाद्र २०७३, शुक्रबार २२:३४

पदबहाली गरेकै दिन सिँचाइमन्त्रीले भने–‘कर्मचारीमा पनि अनुशासन देखिरहेको छैन’

काठमाडौं, भदौ १० । नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताएका छन् ।

सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा शुक्रबार पदबहालीपछि उनले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भने–‘अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन, त्यसैले अब कर्मचारीतन्त्रमा भएको विगतको परम्परालाई अन्त्य गर्नुपर्छ, म आस्थाका आधारमाभन्दा कामका आधारमा मूल्यांकन गर्छु ।’

मन्त्री गिरीले आफू सबै तहका कर्मचारीका कुरा सुनेरमात्रै अघि बढ्ने बताउँदै दाङ, बाँके, बर्दिया, सुर्खेत, सिन्धुपाल्चोकलगायत जिल्लाका बाढीपीडितको समस्या समाधान गर्न सबै एकजुट भएर लाग्न कर्मचारीलाई निर्देशन दिए ।

सो अवसरमा उनले सिँचाइ मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले मन्त्रालयस्तरीय समस्या समाधान बैठक यही आइतबार (भदौ १२) बोलाउन गरेको प्रस्ताव स्वीकृत गरे ।

वि.सं. २०१८ मा हेकुली–९ दाङमा जन्मिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य गिरी पहिलोपटक मन्त्री बनेका हुन् ।

वि.सं. २०२९ देखि राजनीतिमा आबद्ध उनी पछिल्लो समयमा दाङ क्षेत्र नम्बर–५ बाट कांग्रेसतर्फबाट सांसद निर्वाचित भएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्