काठमाडौं, भदौ १० । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताएका छन् ।
शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अहिलेको पुस्ताको प्रतिनिधि भएकाले आफूले गलत गरे सिंगो पुस्तालाई अन्याय हुने र आफूप्रतिको विश्वास पनि गुम्ने भएकाले कुनै गल्ती नगरी काम गर्ने बताए ।
उनले भने–‘मप्रतिको विश्वास भनेको एउटा पुस्ताप्रतिको विश्वास हो । त्यसैले मैले त्यो विश्वास तोड्नु हुन्न ।’
आफूले पाएको जिम्मेवारी सामान्य जिम्मेवारी नभएको आफूलाई हेक्का रहेकाले काम गर्नेक्रममा उच्च नैतिकता र सम्पूर्ण क्षमता देखाउने प्रतिबद्धता उनले व्यक्त गरे ।
उनले स्वास्थ्य क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न निष्ठापूर्वक सत्यका पक्षमा रही काम गर्ने दोहोर्याए ।
पदभारपछि उनले पहिलो निर्णय युवा सरोकारको विषयमा गर्दै नेपाली युवा वैदेशिक रोजगारीमा रहेकाले उनीहरुसँग सम्बन्धित विषयमा पहिलो हस्ताक्षर गरेका छन् ।
मन्त्री थापालाई स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले वैदेशिक रोजगारीमा जाने युवाको स्वास्थ्य परीक्षण प्रतिवेदन गलत हुने गरेको विषयमा विशेषज्ञ समिति गठन भएको जानकारी गराएका थिए ।
गलत प्रतिवेदनका कारण वैदेशिक रोजगारीमा जाने युवाले समस्या भोग्नुपरेको भन्दै मन्त्रालयमा पटक–पटक उजुरी दिने गरेका छन् । यही विषयलाई लक्षित गर्दै गठित यो विशेषज्ञ समितिले छानबिन गर्नेछ ।
मेडिकल काउन्सिलका एक चिकित्सक, श्रम तथा यातायात मन्त्रालयका कानुन अधिकृत, नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्ष वा प्रतिनिधि र वैदेशिक रोजगारीबाट फर्किएकोमध्येबाट एकजना सदस्य रहनेछन् ।
वि.सं. २०३३ मा सोलुखुम्बुमा जन्मिएका मन्त्री थापाले नेपाल विद्यार्थी संघमा महामन्त्रीको पदभार पनि सम्हालेका थिए । हाल काठमाडौं क्षेत्र–४ बाट प्रत्यक्ष निर्वाचित भइ सांसद छन् ।
युवामा चर्चित, लोकप्रिय नेताकोरुपमा रहेका उनी प्रखर, स्पस्ट वक्ताकोरुपमा परिचित छन् । रासस
प्रतिक्रिया दिनुहोस्