
प्रकाश लम्साल (इमेज)
बारा, चैत ३० । बाराको विशेष आर्थिक क्षेत्र (सेज)मा ‘स्पेसल गार्मेन्ट प्रोसेसिङ जोन’मा आन्तरिक सडक सन्जालको काम अन्तिम चरणमा पुगेको छ ।
निर्माण अवधि माघ मसान्तसम्म रहे पनि ‘ए’ ब्लकभित्र पूर्वाधार निर्माण गर्नेक्रममा ८३ प्रतिशत सडक सन्जाल र नालाको काम सम्पन्न भएको हो ।
ब्लक ‘ए’मा ३९ फिटे मुख्य र २८ फिटको शाखा बाटोहरु निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
करिब दुई अर्ब रुपैयाँको लागतमा निर्माण हुने प्रशासनिक तथा सेवा भवनहरुको कामलेसमेत तीव्रता पाएको छ ।
सेवा भवनहरुमा बिमा, बैंक, भन्सार, खानेपानी ट्यांकीजस्ता सेवालाई एकीकृत गर्ने उद्देश्यले निर्माण गर्न लागिएको छ ।
अबको करिब एक वर्षभित्र ब्लक ‘ए’को काम सम्पन्न हुने र इच्छुक उद्योगीहरुलाई उद्योग स्थापनाका लागि अपिल गर्नसकिने इन्जिनियर दिनेश न्यौपानेले बताए ।
ब्लक ‘ए’ सँगसँगै ब्लक ‘बी’ र ‘सी’को डीपीआर तयार भइ पर्खाल लगाउने काम सुरु भएको छ भने ‘डी’ र ‘ई’को डीपीआरको तयारी भइरहेको बताइएको छ ।
पहिलो चरणअन्तर्गत् ८३३ विगाहा क्षेत्रफलमा साना, मझौला तथा ठूला गरी एक हजार २०० उद्योग स्थापना गर्ने लक्ष्य रहेको छ ।
यो वर्ष विशेष आर्थिक क्षेत्र (सेज)का लागि ८४ करोड रुपैयाँ बजेट छुट्याइएको थियो ।
प्रतिक्रिया दिनुहोस्