Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


आदित्यको प्रतिभा विज्ञानका लागि चुनौती : प्रधानमन्त्री, यस्तो छ आदित्यको ‘परिकल्पना’


0
Shares

काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ वर्षीय बालक आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौती भएको बताएका छन् ।

काठमाडौंको गौरीघाटमा त्रिगजुर शिवालयको प्राण प्रतिष्ठा तथा दाहालको ‘कलियुगको आदित्य एवं ज्योतिपथ’ पुस्तकको अंग्रेजी संस्करणको शनिबार विमोचन गर्दै उनले ज्ञान प्राप्तिका लागि स्रोत अनिवार्य भएपनि आदित्यले स्रोतबिना ज्ञान प्राप्त गर्नु अनौठो विषय भएको बताए ।

जन्मँदै ज्ञानको भण्डार बोकेका आदित्य नेपालको अमूल्य धरोहर रहेको प्रधानमन्त्रीको भनाइ छ ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदित्यजस्ता प्रतिभाशाली व्यक्तित्व पाउनु नेपालका लागि शौभाग्यको विषय रहेको बताए ।

जनावरको आकृतिमा शिवालय

शारीरिकरुपमा अशक्त तर मानसिकरुपमा विलक्षण क्षमताका आदित्यको परिकल्पनामा तयार पारिएको भनिएको त्रिगजुर शिवालय एउटा जनावरको आकृतिमा रहेको छ ।

मन्दिरको अगाडिको भाग गाई तथा बीच र पछाडिको भाग शिवको वहान साँढेको छ ।

साँढे (नन्दी)को पेटमा चाँदीको ढोका छ । मन्दिरभित्र पञ्चमुखी शिवलिंग स्थापना गरिएको छ ।

नन्दीको पिँठ्यूमाथि १८ फिट अग्लो ब्रम्हा, विष्णु र महेश्वरको तीन भागमा विभाजित त्रिगजुर छ भने ४१ फिट लामो नागको आकृति माथिबाट तल झरिरहेको देखिन्छ । पछाडि त्रिशूल–डमरु रहेको छ ।

आदित्यले दुई वर्षअघि एउटा अलौकिक मन्दिर निर्माण गर्न चाहेको र यसमा सबैको साथ र सहयोग चाहिने बताएपछि आदित्य संरक्षण प्रतिष्ठानले मन्दिर निर्माणको काम अघि बढाएको थियो ।