सभामुख पढेको विद्यालयमा छात्रभन्दा छात्रा बढी • Image Khabar Image Khabar


सभामुख पढेको विद्यालयमा छात्रभन्दा छात्रा बढी


Imagekhabar
१५ भाद्र २०७३, बुधबार १६:४५

सभामुख पढेको विद्यालयमा छात्रभन्दा छात्रा बढी

रोल्पा, भदौ १५ । सभामुख ओनसरी घर्तिमगरले एसएलसी उत्तीर्ण गरेको रोल्पा जिल्लाको सदरमुकाम लिबाङस्थित बालकल्याण उच्चमाध्यमिक विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको छ ।

हाल विद्यालयको १ देखि कक्षा १० सम्मको कुल विद्यार्थी सङ्ख्या एक हजार ४१३ रहेकामा छात्र ६३२ र छात्रा ७८१ जना अध्ययनरत छन् ।

सभामुख ओनसरी घर्तिमगरले २०४९ सालमा भर्ना भई २०५१ सालमा एसएलसी उत्तीर्ण गर्दा भने बालकल्याण उच्चमाध्यमिक विद्यालय, लिबाङमा छात्राभन्दा छात्रको सङ्ख्या बढी भएको विद्यालयले जनाएको छ । सो समयमा घर्तिमगरसँग एसएलसी परीक्षामा १६ छात्रा र ६२ जना छात्र सहभागी थिए ।

सदरमुकामकै बोर्डिङ स्कुलको तथ्याङ्कमा भने छात्राभन्दा छात्रको सङ्ख्या बढी देखिएको छ जसअन्तर्गत होलिभिजन आवासीय मावि लिबाङ, रोल्पामा कुल ६०६ जना विद्यार्थी रहेकामा २९१ छात्रा र ३१५ जना छात्र अध्ययनरत छन् ।

यस्तै, ब्राइट फ्युचर आवासीय मावि लिबाङ, रोल्पामा कुल २७५ विद्यार्थी रहेकामा १४५ छात्र र १३० जना छात्रा अध्ययनरत छन् ।

‘सदरमुकामकै निजी विद्यालयमा सरकारी विद्यालयको तुलनामा छात्राभन्दा छात्रको सङ्ख्या बढी हुनुले पनि अझै छोरा र छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको पुष्टि गर्छ,’ एक विद्यालयका अवकाश प्राप्त प्रधानाध्यापक खोविलाल सुवेदीले भने ।

यस्तै, होलिभिजन आवासीय माविका प्रिन्सिपल ओम केसीका अनुसार, अझैपनि समाजमा छोरा र छोरीका बीचको विभेदको अन्त्य भइसकेको छैन । छोरीलाई लगानी खेर गएको मान्ने केही परिवारले अझै पनि छोरालाई निजी विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पठाइरहेको हुँदा यसो भएको हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) रोल्पाका अध्यक्ष नौलसिंह पुनका अनुसार गतवर्षको निजी विद्यालयको तथ्याङ्कमा छात्राभन्दा छात्रको सङ्ख्या नै बढी छ । उनी भन्छन्, ‘यसबाट पनि के प्रस्ट हुन्छ भने अझैपनि हाम्रो समाजले छोरीलाई भन्दा छोरालाई प्राथमिकतामा राख्दै आएको छ ।’ छोरीलाई अनिवार्यरुपमा शिक्षा दिनुपर्छ भन्ने चेतनाको विकास नभएका कारण पनि लैङ्गिक विभेदको अन्त हुन नसकेको पुनले बताए ।

यस्तै, जिल्ला शिक्षा कार्यालय, रोल्पाको शैक्षिक सत्र २०७२÷७३ को तथ्याङ्क हेर्दा जिल्लामा ८९ हजार ७९७ जना कुल विद्यार्थी सङ्ख्या रहेकोमा ४४ हजार ३८५ छात्र र ५५ हजार ४१३ जना छात्राको सङ्ख्या रहेको छ ।

अझैपनि छोरालाई सहरका महँगा र ठूला विद्यालयमा पठाउने अनि छोरीलाई गाउँकै साधारण सरकारी विद्यालयमा पढाउने परम्परा यथावत् रहेको हुँदा सरकारी विद्यालयमा छात्राको सङ्ख्या बढी भएको हुनसक्ने समाजसेवी सरस्वती आचार्यले बताए । ‘दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था’ भन्ने नारा सरकारले अघि सारेको छ, तर पनि सोचेअनुरुप लक्ष्य हासिल गर्न सकिरहेको अवस्था छैन, उनले भने ।

जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलका अनुसार निजी विद्यालयप्रति अभिभावकको आकर्षण तानिएको हुँदापनि निजी विद्यालयमा भन्दा सरकारी विद्यालयमा छात्राको सङ्ख्या बढी भएको हुनसक्छ । पौडेल भन्छन्, ‘अझैपनि केही परिवारले छोराभन्दा छोरीलाई कम महत्व दिँदै आएका छन् । छोरा र छोरीका बीचको लैङ्गिक विभेद अन्त नभइसकेको हुँदा पनि यसो भएको हुन सक्छ ।’

यस्तै, बालकल्याण उच्च मावि, लिबाङका प्राचार्य मधुसूदन पोख्रेलका अनुसार छात्र वैकल्पिक उपायको खोजीमा जाने भएको हुँदा सरकारी विद्यालयमा छात्राको सङ्ख्या बढी भएको हुनसक्छ । (रासस)

प्रतिक्रिया दिनुहोस्