९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


निगमको जहाज रोकिनु ‘एटीसी र निगम दुवैको गल्ती’


0
Shares

काठमाडौं, चैत २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही चैत १९ गते राति युनाइटेड अरब इमिरेट्सको दुबई उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज विमानस्थलमा रोकिएको घटनामा एअर ट्राफिक कन्ट्रोलर (एटीसी) र निगम दुवैको गल्ती भएको पाइएको छ ।

उक्त घटनाका सन्दर्भमा छानबिन गर्न गठित समितिले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई बुझाएको प्रतिवेदनअनुसार एटीसीको अपरिपक्वता र निगम कर्मचारीको फितलो सन्चारले चार मिनेटमात्र ढिला हुँदा पनि २७१ यात्रीले सास्ती पाएको उल्लेख छ ।

निगमको जहाज रोकिएको सम्बन्धमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।

घटना भएको रात ड्रागन एअर र निगमका दुई ‘वाइडबडी’ जहाज उडान भर्नेक्रममा थिए । ड्रागन एअरको जहाज रनवेमा गइसकेकाले निगमको जहाज ट्याक्सीवेमै रहेको थियो । दुईओटा वाइडबडी एकैपटक रनवेमा लिन मिल्दैन ।

ड्रागनका कारण ‘बोर्डिङ’ गरिसकेको निगमको जहाजलाई रनवेमा जान केही मिनेट ढिला हुँदा एटीसीमा रहेका कर्मचारीले मानवीय हिसाबले परिपक्व निर्णय गर्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।

एटीसीले समय कटेकाले उडान अनुमति दिन नमिल्ने बताएपनि विमानस्थलमा भएका निगम कर्मचारीले उक्त कुराको खबर माथिल्लो निकायमा नगरी उडान रद्द गरेर गल्ती गरेको छानबिन समितिको ठहर छ ।

निगमको काठमाडौंबाट दुबईतर्फ जाने उडान नम्बर एनए–२३१ को यही चैत १९ साँझ ९ः१५ मा तय भएको नियमित उडान निर्धारित् समयमा उड्न नसकी रद्द भएकाले सो उडानमा भएको कमी–कमजोरीको अध्ययन गरी प्रतिवेदन पेस गर्न (पर्यटन राज्यमन्त्रीस्तरीय मिति २०७५/१२/२० को निर्णयबाट) छानबिन समिति बनाइएको थियो ।

उक्त घटनासँग सम्बन्धित विभिन्न निकायका ६ कर्मचारीलाई विभागीय कारबाहीका लागि समितिले किटानीसहित कारबाही सिफारिस गरेको छ ।

उडान रद्द हुनुमा विमानस्थलको टावरमा उक्त समयमा ड्युटीमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जिम्मेवार कर्मचारीले प्रभावकारी समन्वय नगरेकाले विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

उक्त घटनामा यात्रीको उचित व्यवस्थापनमा तत्काल उपयुक्त कदम नचाल्ने निगमका विमानस्थलस्थित दुई पदाधिकारीलाई विभागीय कारबाही गर्न तथा समयमा जहाज समन्वयमा कमजोरी देखिएकाले निगमकै दुई कर्मचारीलाई कारबाही सिफारिस गरिएको छ ।

साथै, अनुसन्धानकाक्रममा फ्लाई दुबईको उडान–०९ अप्रिलको घटनाको सम्बन्धमा विस्तृत् छानबिन गरी जिम्मेवार पदाधिकरीलाई कडा कारबाही गर्न समितिले प्राधिकरणलाई सिफारिस गरेको छ ।

समितिले भविष्यमा यस्ता घटना दोहोरी नदिने गरी प्रणालीगत सुधारसहित विमानस्थल तथा वायुसेवा सन्चालन स्पस्ट विधि, प्रक्रिया तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न पर्यटन मन्त्रालय, प्राधिकरण र निगमलाई निर्देशन दिने सिफारिस गरेको प्रवक्ता घनश्याम उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस