
फाइल फोटो
काठमाडौं, भदौ १६ । व्यवस्थापिका–संसदको विहीबारको बैठकमा सांसदहरुले आफ्ना क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
विशेष समयमा सांसद अनिता देवकोटाले राप्ती उपक्षेत्रीय अस्पताललाई मेडिकल कलेजकारुपमा विकास गर्न स्तरोन्नतिका साथै आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्न माग गरिन् ।
सांसद काशीनाथ अधिकारीले मुलुकमा चरम उर्जासंकट सम्बोधन गर्न अघिल्लो सरकारले अघि सारेको कार्ययोजना किन कार्यान्वयन गरिएन ? भनी प्रश्न गरे ।
सांसद अग्निप्रसाद सापकोटले सरकार र व्यवसायीबीचको द्वन्द्वका कारण बसको यात्रा त परै जाओस् ट्रक र ट्र्याक्टरमासमेत बसेर लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यताले जनताले निकै सास्ती झेल्नुपरिरहेको सदनलाई जानकारी गराए ।
सांसद कान्ता भट्टराईले गहन अध्ययन नभइ नेपाली भाषामा सुधार र परिमार्जनका नाममा व्याकरण परिवर्तन गर्दा शिक्षक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको बताउँदै सदनमार्फत् सरोकारवाला निकायको ध्यानाकर्षण गराइन् ।
सांसद डा. सुबोधकुमार पोखरेलले चुरे क्षेत्रको वन विनासले तराईका जिल्लामा खडेरी भएको बताए ।
सांसद जंगीलाल रायले तराई–मधेसमा ठूलो जनसंख्याले संविधान दिवसलाई ‘कालो दिवस’कारुपमा मनाउने बताइरहेकाबेला त्यसअघि नै संविधान संशोधनको विकल्प नभएको विचार व्यक्त गरे ।
सांसद नरसिंह चौधरीले स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगको पुनःसंरचनाको कामको औचित्यमाथि नै प्रश्न गरे ।
सांसद अनुराधा थापामगरले केही व्यक्तिले आफूखुसी नेपाली भाषामा परिवर्तन गर्न खोजेकाले जटिलता उत्पन्न भएको विचार व्यक्त गर्दै यसबारेमा छानबिन गर्न समिति गठनको माग गरिन् ।
सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनकाबारेमा भारतीय प्रधानमन्त्रीलाई लेखेको पत्रकाबारेमा जानकारी माग गर्दै सार्वभौमसत्ता सम्पन्न मुलुक नेपालले संविधान संशोधन गर्न छिमेकीलाई किन सोध्नुपर्ने ? भनी प्रश्न गरे ।
उनले यसबारेमा प्रधानमन्त्रीले संसदमा आएर जानकारी गराउनुपर्ने माग गरे ।
सांसद जनकराज जोशीले पूर्वविशिष्टलाई दिने सेवा, सुविधा र सुरक्षासम्बन्धी विधेयक अघि नबढेकामा आपत्ति जनाउँदै विधेयक तत्काल अघि बढाउन गृहमन्त्रीको ध्यानाकर्षण गराए ।
सांसद अञ्जना ताम्लीले सूचना र प्रविधिको २१ शताब्दीमा पनि नेपालका सन्चारकर्मीले सरकारले निर्धारण गरेको न्यूनतम् पारिश्रमिक नपाएको सम्बन्धमा सदनमार्फत् सूचना तथा सन्चारमन्त्रीको ध्यानाकर्षण गराइन् ।
साथै उनले द्वन्द्वकालमा ग्रामीण क्षेत्रबाट विस्थापित भएका कृषि विकास बैंक पुनःस्थापना गर्न माग गरिन् ।
सांसद मुक्तिप्रसाद पाठकले बुटवल पावर कम्पनीबाट उत्पादित विद्युत्को आवश्यक छलफल नगरी गरिएको विद्युत् महसुल बृद्धिले सर्वसाधारण जनतामा समस्या परेको भन्दै समाधानका लागि ऊर्जा मन्त्रालय र सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।
सांसद उमेशकुमार यादवले सप्तरीको अस्पतालमा गलत उपचार भएको उदाहरण दिँदै त्यस सम्बन्धमा गलत गर्नेलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद रेशमबहादुर बानियाँले संसदको दैनिक कार्यसूचीकाबारेमा नियमावलीमा भएबमोजिम आफूहरुले एक दिनअघि पाउनुपर्ने दैनिक कार्यसूची नपाएको गुनासो गर्दै कार्यसूचीकाबारेमा आवश्यक अध्ययन र जानकारी लिने काम हुन नपाएको गुनासो गरे ।
सांसद रश्मी ठाकुरले पूर्वविशिष्ट व्यक्तिले स्वदेशमा उपचारको व्यवस्था हुँदाहुँदै पनि विदेश जानुको अर्थ के ? भनी प्रश्न गरिन् ।
उनले सर्वसाधारणको उपचार स्वदेशमा हुने तर विशिष्टको किन नहुने ? भन्दै विशिष्टले विदेशमा गर्ने उपचार खर्चले स्वदेशमै सुविधाजनक अस्पतालको व्यवस्था गर्न सकिने धारणा राखिन् ।
सांसद आनन्दप्रसाद पोखरेलले पोखरा जानेक्रममा चितवन दुर्घटनामा परी त्रिशूली नदीमा बेपत्ता भएका सप्तरीका सातजनामध्ये दुईजनाकोमात्र शव भेटिएको जानकारी गराउँदै तत्काल खोजीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
सांसद योगेन्द्र तामाङ घिसिङले स्थानीय निकायको निर्वाचन गर्न राष्ट्रियस्तरमा बृहत् छलफल हुनुपर्ने बताउँदै आदिवासी/जानजाति, दलितलगायत पिछडिएका समुदायका लागि संरक्षित संरचना हुनुपर्ने माग गरे ।
यसअघि, शून्य समयमा भाग लिने अधिकांश सांसदहरुले मुलुकमा व्याप्त अनियमितता, भ्रष्टाचार र कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्