५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


‘फ्लप फिल्म’को बाढीमा बगेको वर्ष २०७५


0
Shares

दीपेन्द्र अधिकारी (इमेज) 

काठमाडौं, चैत २९ । रजतपटमा वर्षमा कम्तीमा ७० र बढीमा १२० चलचित्र पर्दामा लाग्ने गर्दछन् । वार्षिकरुपमा झन्डै १५० भन्दा बढी चलचित्र निर्माण हुन्छन् ।

यो वर्ष पनि १२० भन्दा बढी नेपाली भाषाका चलचित्र निर्माण भए । चलचित्र विकास बोर्डकाअनुसार आर्थिक वर्ष २०७५/०७६ को ९ महिनामा १४३ भन्दा बढी चलचित्र दर्ता भए ।

यी सबै चलचित्र हलसम्म आइपुग्छन् भन्ने हुँदैन । केही चलचित्र च्यारिटी शो, युट्युब र डेक्सटपमै सीमित रहन्छन् ।

२०७५ सालमा जम्मा ९६ ओटा चलचित्र प्रदर्शनमा आए ।

वर्षको अन्तिम शुक्रबारबाट प्रदर्शनमा आएका फिल्म ‘ए मेरो हजुर–३’ र ‘यात्रा’ले दुई दिनमात्र यस वर्षमा रहेर कारोबार गर्न पाए ।

२०७४ सालभन्दा २०७५ मा चलचित्र क्षेत्रमा खासै सुधार देखिएन । गत वर्ष ४४ ओटा चलचित्र ‘फ्लप’ भएकामा यो वर्ष त झन् दोब्बरैजस्तै यो सूचीमा पर्दै सो संख्या ८०–८१ को हाराहारीमा पुग्यो ।

२०७५ सालमा थोरैमात्र चलचित्रले व्यापारिक सफलता पाउँदा कति त लगानी नै उठाउन नसकेर डुबे ।

‘जय भोले’, ‘छक्का पञ्जा ३’ ‘नाइ नभन्नु ल ५’ ‘प्रसाद’, ‘इन्टु मिन्टु लन्डनमा’लगायतका चलचित्रले लगानी सुरक्षितमात्रै गरेनन् राम्रै मुनाफा पनि कमाए ।

८४ चलचित्र जसले गुमाए

रामकृष्ण बजगाइँ निर्देशित चलचित्र ‘स्वर्ग मेरो गाउँ’ २०७५ को पहिलो चलचित्रकारुपमा प्रदर्शनमा आएको थियो । भावना गुरुङ, अष्ट महर्जन र नरेन खड्कालगायतको मुख्य भूमिका रहेको चलचित्र रिलिज भएको दुई दिनमै हलबाट ‘आउट’ भयो भने प्रचारको खर्चसमेत उठाउन सकेन ।

०७५ वैशाख १४ गतेका दिन रिलिज भएका चलचित्र ‘कोहलपुर एक्सप्रेस’ र ‘ह्यापी डेज’ले पनि प्रचार खर्चभन्दा बढी जुटाउन सकेन ।

कोहलपुर एक्सप्रेसबाट चलचित्र निर्माणमा हात हालेकी नायिका केकी अधिकारी र नाम कहलिएका निर्देशक मिलन चाम्सको चलचित्र ह्यापी डेजले व्यापार गर्न नसक्दा विभिन्न प्रश्न पनि उठे ।

खगेन्द्र लामिछानेको अभिनय रहेको चलचित्र ‘डमरुको डन्डीबियो’, गोपाल चन्द लामिछानेको ‘लम्फु’, एनबी महर्जनको ‘हिरोज’, सौगात विष्टको ‘हैरान’, अर्पन थापाको ‘सुनकेशरी’, प्रवेश पौडेलको ‘अमेरिका ब्वाइज’, सफल केसीको ‘हरी’, किशोर भण्डारीको ‘चंगा’, टेके पौरखी राईको ‘मट्टिमाला’, सवीन श्रेष्ठ अभिनित ‘ए सोल्टीनी’लगायतका चलचित्रले निर्मातालाई राहत दिन सकेन । 

त्यसरी नै शोभित बस्नेतको ‘बाबुकान्छा’, सूर्य बोहराको ‘भैरे’, अनुष्का रौनियारको ‘चक्कर’, दीपक ओलीको ‘पण्डित बाजेको लौरी’, दिनेश श्रेष्ठको ‘चि मुसी चि’, बोमन कटुवालको ‘झमकबहादुर’, सवीर श्रेष्ठको ‘कहिँकतै’, पुरन थापाको ‘पिरिम प¥या छन्’, रुपेश तामाङको ‘जय शम्भु’, प्रदीप श्रेष्ठको ‘ब्ल्याक’, सन्तोष सेनको ‘मेरी मामु’, भद्र भुजलेको ‘साली कसको भेना’को, सत्यराज चौलागाइँको ‘अनुराग’, संगीता श्रेष्ठको ‘कथा काठमान्डु’, यस कुमारको ‘छिरिङ’लगायत चलचित्रहरुले पनि निर्मातालाई सुरक्षित गराउन सकेन ।

त्यस्तै, पुकार भट्टराईको ‘गुन गुन’, सुव्रत आचार्यको ‘सुश्री सम्पत्ति’, राजबहादुर सानेको ‘डोली’, प्रविण स्याङ्बोको ‘कथा ७२’, विप्लव उप्रेतीको ‘जय श्रीदाम’, निखिल उप्रेतीको अभिनय रहे्को चलचित्र ‘भिलेन’, सुवास कोइरालाको ‘गरुड पुराण’, दीपशिखाको ‘प्रेमलीला’, रामशरण पाठकको ‘सय कडा दश’, महादेव त्रिपाठीको ‘जादुगर २ जोक्कर’, शुशान्त कार्की अभिनित ‘रुमालै छ चिनो’लगायत चलचित्रले प्रचारको खर्च जेनतेन उठाउन सक्यो ।

मनोज पण्डितको ‘खाग’, सबिर श्रेष्ठको ‘बाँध मायाले’, आकाश श्रेष्ठ अभिनित ‘ड्रिमगर्ल’, विषारद बस्नेतको ‘मिस्टर भर्जिन’, नरेशकुमार केसीको ‘रोमियो एन्ड मुना’, पेमा ढोण्डुपको ‘द म्यान फ्रम काठमान्डु’, राजबहादुर सानेको ‘विराङ्गाना’, प्रदीप खड्का अभिनित ‘रोज’, रेखा थापाको ‘मालिका’, वसन्त अधिकारीको ‘जानी नजानी’, भीषन राईको ‘पुरानो बुलेट’, दीपेन्द्र लामाको ‘गोपी’, गोविन्द सिंहको ‘रणवीर’, मुस्कान ढकालको ‘समर लभ’, सन्तोषबाबु लोहनीको ‘शुभ लभ’, अपिल विष्टको ‘कागजपत्र’, हेमराज बीसीको ‘द ब्रेकअप’लगायतका चलचित्र भने औसत व्यापारमा सीमित रहे ।

यादवकुमार भट्टराईको ‘भोर’, खुसबहादुर गुरुङको ‘मनाङ्गे नानी’, आयुष रिजालको अभिनय रहेको ‘अफिसर’, जनक पाण्डेको ‘बेबी आई लभ यु’, विकास बस्यालको ‘तिमी हुन्छौं जहाँ जहाँ’, दीपक लामाको ‘चोखो माया’, कल्याण अधिकारीको ‘यो पागल मन’, दिनेश पाख्रिनको ‘टिनेज’, गिरीश रिजालको ‘रेनी’, राजु गिरीको ‘निर्जला’, सुरेश उप्रेतीको ‘दैलो’, कुमार केसीको ‘अनुग्रह’, गजेन्द्र रञ्जीतको ‘कोइला’, दिनेश लिंगदेनको ‘शान्ति’, भीम लामाको ‘गोल’, उमेश गुरुङको ‘जेसुकै होस्’, अमर ओलीको ‘आरोप’, दी प्रकाश याक्सोको ‘बैना’, मदन घिमिरेको ‘ब्वाइफ्रेन्ड’, नवीन निरौलाको ‘फिंगर प्रिन्ट’, दिनेश लिंगदेनको ‘अदालत’, बाबु बलामीको ‘एलान’लगायतका चलचित्र एक दिनमै ‘वास आउट’ भए ।

वर्षको अन्त्यतिर आशा बोकर आए यी चलचित्र

२०७५ को अन्त्यतिर भने केही चलचित्रले आशा जगाए । रामबाबु गुरुङको ‘साँइली’, उज्वल घिमिरेको ‘लभ स्टेशन’ले राम्रै व्यापार गर्‍यो । चैत महिनाको अन्तिम शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र सम्राट शाक्यको ‘यात्रा’ र झरना थापाको ‘ए मेरो हजुर ३’ लाई पनि आशालाग्दो चलचित्रकारुपमा हेरिएको छ ।

चलचित्र नचल्दा डुब्यो करोडौं 

२०७५ मा ८४ चलचित्र ‘सुपर फ्लप’ भएका छन् । यी चलचित्र निर्माणका लागि ३५ लाखदेखि एक करोड ५० लाख रुपैयाँसम्म लागत परेको छ ।

सरदर सबै चलचित्रको निर्माण बजेट ९० लाखदरले अनुमान गर्ने हो भने पनि ८० करोडभन्दा बढी लगानी भएको देखिन्छ ।

यसरी नेपाली चलचित्रको गुणस्तरलाई सबैले अपनाउन नसक्दा, बजार व्यवास्थापन नगर्दा र बजारअनुसारको लगानीमा चलचित्र नबनाउँदा करोडौं रुपैयाँ बालुवामा पानीसरह भइरहेको हो ।

प्रदर्शनमा आएका र प्रदर्शन हुन बाँकी चलचित्र गरेर ९६ चलचित्रको अनुमानित लागत एक अर्बभन्दा बढी रहेको अनुमान छ ।

निर्माण भएका र प्रदर्शनमा आएका चलचित्रमध्ये समग्रमा १२ प्रतिशत चलचित्रमात्र नाफाउन्मुख रहेको देखिन्छ ।