Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु


0
Shares

गौशाला, भदौ १९ । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा शनिबार राति खोलाले बगाउँदा एक महिलासहित दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार शनिबार राती साढे ७ बजेको समयमा बर्दिबास नगरपालिका–१० स्थित मरहा खोला तर्न लाग्दा खोलामा अचानक आएको बाढीले बर्दिबास–१० बस्ने विमल बुलनका छोरा १० वर्षीय मानव बुलनलाई बगाउँदा उनको मृत्यु भएको हो ।

त्यस्तै राति नै ८ बजेतिर जिल्लाको औरही बजारबाट घर फर्किने क्रममा रातु खोला तर्दै गरेकी पशुपतिनगर गाविस–६ बस्ने बिर्जु महराकी पत्नी ५० वर्षीया पवित्रा महरालाई सो खोलामा अचानक आएको बाढीले बगाउँदा उनको मृत्यु भएको प्रहरी उपरीक्षक भट्टराईले बताए।

खोला तर्ने बेलामा अचानक आएको बाढीले बगाएर लगेका बुलनको शव प्रहरीले बर्दिबास–१२ स्थित खोलामा फेला पारेको थियो भने महिला महराको शव जिल्लाको सीतापुर भङ्गहा–३ स्थित सोही खोलामा फेला पारेको थियो । मृतक दुवैजनाको शव आज बिहान शवपरीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस