१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


सार्वजनिक–निजी साझेदारीमा अगाडि बढ्न सरकार आतुर : प्रधानमन्त्री


0
Shares

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सार्वजनिक–निजी साझेदारीमा काम गर्न सरकार तयार रहेको बताएका छन् ।

उनले ‘पीपीपी मोडल’मा काम गर्न निजी क्षेत्रभन्दा सरकार बढी उत्साहित र हतारोमा रहेको पनि बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५३औं वार्षिक साधारणसभा एवं उद्योग दिवसको कार्यक्रममा प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिका लागि निजी क्षेत्रको हिस्सा ५५ प्रतिशत हुनुपर्नेमा पनि जोड दिए ।

सरकार लगानीअनुकूल वातावरण बनाउन तयार रहेको भन्दै त्यस्तो अवस्था छैन भने कुन क्षेत्रमा अनुकूल भएन भन्नसमेत निजी क्षेत्रलाई आग्रह गरे ।

निजी क्षेत्रले संघीयतामा करको विषयमा उठाएको प्रसंगमा उनले संघीयता तानातान विषय नभएको भन्दै मिलेर देश विकास गर्न संघीयता ल्याइएको बताए ।

प्रधानमन्त्री ओलीले विद्युतीय गाडी उद्योग खोल्न आग्रह गर्दै सरकारलेसमेत सहयोग गर्ने बताए ।

महासंघकी अध्यक्ष भवानी राणाले मुलुकमा पर्याप्त औद्योगीकरणमार्फत् रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याउँदै लगानी गरिरहेका लगानीकर्ताको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताइन् ।

उनले स्थानीय तहमा साना व्यवसायीहरुले धेरै समस्या भोग्दै आइरहेको भन्दै नवीकरण, प्यान, ब्याददरको समस्या विद्यमान रहेको बताइन् ।

उनले ब्याजदरलाई वैज्ञानिक आधारमा तय गरिने पद्धतिको विकास गर्न पनि जोड दिइन् ।

सो अवसरमा महासंघले पूर्वअध्यक्ष महेशलाल प्रधानलाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्डसहित विभिन्न उत्कृष्ट जिल्ला संघहरुलाई सम्मान गरेको थियो ।