
काठमाडौं, भदौ २० । आज भाद्र शुल्क चौथी अर्थात् गणेश चौथी । देशभरका हिन्दू धर्मावलम्बीले गणेशको पूजाआजा गरी गणेश चौथी पर्व मनाउँदै छन् ।
गणेश चौथीका अवसरमा देशभरका गणेश मन्दिरमा घुईंचो लागेको छ । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड लागेको छ ।
गणेशलाई लड्डु चढाएर आफ्नो मनोकामना पुरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु लड्डु बोकेर पुगेका छन् ।
काम सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ ।
गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन् । आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ ।
चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ । कमलको फूल, चथा फूल, समयबजी, फलफूल, अदुवाको बोटलगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ । आज पानी परेमा दसैंमा पनि पानी पर्ने जनविश्वास छ ।
प्रतिक्रिया दिनुहोस्