२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जमिन चिरा परेपछि स्थानीयबासी त्रसित


0
Shares

म्याग्दी, भदौ २० । म्याग्दीको बेगखोला–१ बाँसबोटमा जमिन चर्किएर पहिरो जान थालेपछि स्थानीयबासी त्रसित बनेका छन् ।

बस्तीदेखि माथिबाट पहिरो खस्न थालेपछि बाँसबोट र लिस्नेका स्थानीयवासी विस्थापित हुने अवस्थामा पुगेका छन् ।

बाँसबोट र लिस्नेमा गाउँ तल र माथिबाट पहिरो जान थालेको तथा बाढीले असर पुर्‍याएपछि २२ घरधुरी विस्थापित हुने अवस्थामा पुगेको स्थानीयबासी टीका पुर्जा मगरले बताइन् ।

उनकाअनुसार पहिरोको जोखिम बढेपछि स्थानीयबासी १० घरपरिवारले बेग गाउँमा आफन्तको घरमा सर्ने तयारीसमेत गरिसकेका छन् ।

अविरल वर्षाको कारण बस्तीको विभिन्न स्थानमा पहिरोले जमिन फाट्ने, पहिरो खस्ने, शौचालय भत्कने, घर चर्कने समस्या देखिएपछि पहिरोको जोखिम झनै बढेको स्थानीयबासीले बताएका छन् ।

यसै वर्ष लिस्ने खोलामा निर्माण गरिएको झोलुंगेपुलमासमेत खोलामा आएको बाढीले क्षति पुर्‍याएको छ भने पहिरो र बाढीले बालबालिकालाईसमेत विद्यालयमा आवतजावत गर्न समस्या भएको छ ।

हालसम्म बेगखोला गाविसमा गाविस–६ का ११ घरधुरीसहित बाढी र पहिरोले १५ घरमा पूर्णरुपमा क्षति पुगेको छ ।

पहिरोले बाँसबोटका सोमबहादुर नेपालीको वडा नम्बर–४ का नगेन्द्र विक, वडा नम्बर–६ औलका नेत्रबहादुर पुनको घर पनि भत्किएको नेपाल रेडक्रस सोसाइटी बेगखोला उपशाखाका सभापति ओमप्रसाद गर्वुजाले जानकारी दिए ।

उनकाअनुसार स्थानीय शिव प्राथमिक विद्यालयसमेत पहिरोको उच्च जोखिममा परेको छ ।

पहिरोले बेगखोलाकै कृष्ण निमावि बाँदुकमा कक्षाकोठा भवन भत्किएको छ । रासस