ड्युटीमा खटिएका प्रहरी नै असुरक्षित • Image Khabar Image Khabar


ड्युटीमा खटिएका प्रहरी नै असुरक्षित


Imagekhabar
२१ भाद्र २०७३, मंगलवार १५:५८

ड्युटीमा खटिएका प्रहरी नै असुरक्षित

दाङ, भदौ २१ । शान्तिसुरक्षाका लागि ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण भएको छ ।

दाङको भालुवाङ इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक भागवत बस्नेतलाई लालमटिया–८ बागढङीमा स्थानीय युवाको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

सोमबार बस्नेतको कमान्डमा खटिएका चारजनाको प्रहरी टोलीमाथि लुकेर दाउराले प्रहार गरी अगाडि हिँडिरहेका सहायक निरीक्षक बस्नेतमाथि आक्रमण गरेका थिए ।

टाउकामा गम्भीर चोट लागी घाइते भएका बस्नेतको बुटवलमा उपचार भइरहेको बताएको छ ।

कुटपिटमा संलग्न लालमटिया–३ बस्ने सुनिल मल्ल, झपिन्द्र पाण्डे, शेरबहादुर विक, अमर खत्री र अनिल घर्ती फरार भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सोही समयमा शान्तिसुरक्षाका लागि ड्युटीमा खटाइएका प्रहरी चौकी सिसहनियाका सहायक निरीक्षक यज्ञमणि वैद्यमाथि पनि गोवरडिहा–४ बस्ने श्यामसिंह चौधरी र अम्रेश चौधरीले हातपात गर्न खोजेको र उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक मदन केसीले जानकारी दिएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्