
फाइल फोटो
काठमाडौं, भदौ २१ । नेपाल उद्योग वाणिज्य संघ, मकवानपुरले भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।
संघका जिल्ला अध्यक्ष राजकुमार न्यौपाने नेतृत्वको प्रतिनिधिमन्डलले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी हेटौंडाबाट काठमाडौं आउनलाई सहज बनाउने सुरुङमार्ग निर्माण गर्न माग गरेको हो ।
तीन किलोमिटर उक्त सुरुङमार्ग निर्माणपछि हेटौंडाबाट काठमाडौँ आउन सुरक्षित र सहज हुन्छ ।
सो अवसरमा प्रधानमन्त्री दाहालले सरकारी लगानीमा सुरुङमार्ग बनाउन सरकार सकारात्मक रहेको बताउँदै त्यसका लागि आफूले पहल गर्ने बताए ।
प्रधानमन्त्रीले आफ्ना मागलाई सम्बोधन गर्ने आश्वासन दिएको अध्यक्ष न्यौपानेले राससलाई जानकारी दिए ।
संघले सुरुङमार्ग निर्माण भएपछि दुर्घटनामा कमी आउने र समय पनि छोटिने प्रधानमन्त्रीलाई विश्वास दिलाएको थियो ।
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा भएको भेटमा ‘एसियन हाइवे’ निर्माण गर्दा सडकको दुबैतर्फ २५ मिटर जग्गा अधिकरण गर्दा मुआब्जा दिनुपर्ने विषयमा कुरा भएको थियो ।
अर्थमन्त्री महराले मुआब्जाका विषयमा अर्थ मन्त्रालयलले चाँडै निर्णय लिने विश्वास दिलाएको अध्यक्ष न्यौपानेले बताए । रासस
प्रतिक्रिया दिनुहोस्