
फाइल फोटो
गोरखा, भदौ २२ । गोरखाको मुच्चोकमा निर्माणाधीन दरौंदी ‘ए’ जलविद्युत् आयोजनाले आउँदो दसैंअघिदेखि नै बिजुली उत्पादन गर्ने जनाएको छ ।
कुल ६ दशमलव २ मेगावाट क्षमताको यस आयोजनाको मुच्चोकस्थित दरौंदी नदीमा चार मिटरको बाँध बाँधी चार किलोमिटर फलामे टनेलमार्फत् चनौटेमा विद्युत्गृह निर्माण गरिसकिएको छ ।
विद्युत्गृहदेखि गोरखाबजारको नेपाल विद्युत् प्राधिकरणस्थित सव–स्टेसनसम्म १८ किलोमिटर प्रशारणलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाका जनसम्पर्क अधिकृत विष्णु पन्तले जानकारी दिए ।
चनौटेदेखि भालुस्वाँरासम्म दरौंदीबगरमा ल्याइएको प्रशारणलाइन नारेश्वर हुँदै सदरमुकामको हरमटारीस्थित सव–स्टेसनमा ल्याइएको छ ।
अहिले ताप्लेस्थित शिखरमा प्रशारणलाइनका क्षेत्रका अवरोधक रुख कटानको काम भइरहेको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली सव–स्टेसनसम्म पुर्याउन प्राविधिक तयारी गरिसकिएको छ । आयोजनाले परीक्षण उत्पादन छिट्टै गर्ने तयारी गरेको पन्तको भनाइ छ ।
‘यो साता हामी परीक्षण उत्पादन गर्छौं । उत्पादन भएको बिजुली प्रशारणलाइनमार्फत् सव–स्टेसनमा पठाउँछौं’–पन्तले भने ।
गत असार महिनादेखि नै आयोजनाबाट बिजुली उत्पादन हुने बताइएपनि भूकम्प तथा नाकाबन्दीले गर्दा काममा ढिलाइ भएको थियो ।
‘बिजलुी उत्पादन तथा प्रशारण गर्न सम्पूर्ण तयारी पूरा भइसक्यो । दसैंअघि नै बिजुली उत्पादन हुन्छ’–पन्तले भने ।
आयोजनाबाट उत्पादन भएको बिजुली सव–स्टेसनमा जडान गरेपछि गोरखामा रहँदै आएको दिनहुँ दुईघन्टा विद्युत्भार कटौती अन्त्य हुने बताइएको छ ।
दरौंदी ‘ए’ जलविद्युत् रु एक अर्बको लगानीमा निर्माण हुने तयारीकासाथ निर्माण सुरु गरेपनि पूर्वनिर्धारित् योजनाअनुसार काम नहुँदा लागत बढेको बताइएको छ ।
कति लागत बढ्यो भन्नेबारे आयोजनाले अन्तिम तथ्यांक निकाल्न बाँकी रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्