
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, भदौ २३ । बुधबारदेखि लगातार भएको वर्षाका कारण पर्वतको पातीखोलामा आएको बाढीले ६ घर बगाउनुका साथै माछाफर्म र पातीखोला जलविद्युत् केन्द्रमा क्षति पुर्याएको छ ।
बाढीले देउपुर गाविस–९ मा ६ घर बगाएको हो । बाढीले देउपुर–९ का खोला किनारमा रहेका सुन्दर विक, अन्तरे विक, कालु विक, प्रेमप्रसाद चापागाइँ, यामबहादुर चोचांगीको घर र बाजुङ–१ का मनबहादुर पौडेलको पानीमिल पनि बगाएको छ । अहिले उनीहरु पूर्णरुपमा विस्थापित बनेका छन् ।
बाढीले स्थानीय यामबहादुर चोचांगीको धौलागिरि साबुन फ्याक्ट्रीसमेत बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार बाढी पसेपछि देउराली गाविस–६ मा रहेको १ मेघावाट क्षमताको पातीखोला जलविद्युत् केन्द्रमा पनि क्षति पुगेको छ । बाढी पसेपछि केन्द्रबाट विद्युत् उत्पादनसमेत बन्द भएको छ ।
बाढीले पार्वती आमा समूहले सन्चालन गरेको माछाफार्म पनि बगाएको छ । बाढीका कारण खोला किनारका अरु आधादर्जन घर जोखिममा छन् भने सयौं रोपनी धानखेतसमेत कटान गरेर बगाएको स्थानीय जीतबहादुर बरुवालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्