३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


‘भारतसँगका नयाँ नाका खोल्न विशेष प्रयास हुनुपर्छ’


0
Shares

                                                                फाइल फोटो

काठमाडौं, भदौ २३ । व्यवस्थापिका–संसदको विहीबारको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर सांसद सञ्जयकुमार गौतमले नेपाल–भारत वाणिज्य सन्धिअन्तर्गत् पाँचओटा नयाँ नाका सन्चालन गर्ने सहमति भएकामा सहमतिअनुसार नाका सन्चालन नभएकामा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणकाबेला गुलरिया र मूर्तियालगायत नाका सन्चालनका निम्ति विशेष प्रयास हुनुपर्नेमा उनले जोड दिए ।

सांसद केशवप्रसाद बडालले काठमाडौं–हेटौंडा द्रुतमार्ग नेपालले नै बनाउनुपर्नेमा जोड दिँदै जुनसुकै मुलुकका निर्माता कम्पनीलाई निर्माणको जिम्मा दिएपनि लक्ष्यअनुरुप उक्त मार्गबाट आम्दानी नहुने र राज्यकोषमा हानि हुने भएकाले सरकार सचेत हुनुपर्ने सुझाव दिए ।

अर्का सांसद सुरेन्द्रप्रसाद जैसवालले हुलाकी राजमार्ग र द्रुतमार्गमा राजनीति गर्न नहुने र ती आयोजना शीघ्रातिशीघ्र सन्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

सांसद भक्तबहादुर विश्वकर्माले नेपाली व्याकरण र वर्णविन्यासकाबारेमा उत्पन्न विवाद अन्त्य गर्नुपर्ने माग गरे ।

सांसद महेन्द्रराय यादवले प्रधानमन्त्रीको भारत भ्रमणअगावै संविधान संशोधनको प्रस्ताव सदनमा दर्ता हुनुपर्ने बताए ।

त्यसैगरी, सांसद नरसिंह चौधरीले हुलाकी राजमार्गको प्रसंग बारम्बार उठ्ने गरेको तर त्यो कार्यान्वयन नहुँदा तराई क्षेत्रको विकास हुन नसकेको बताउँदै प्रधानमन्त्रीले भारत भ्रमणकाबेला त्यसलाई उच्च प्राथमिकताकासाथ उठाउनुपर्ने सुझाव दिए ।

सांसद डिल्लीप्रसाद काफ्लेले प्रधानमन्त्रीको भारत भ्रमणकाक्रममा कुनैपनि सन्धि–सम्झौता हुन नहुनेमा जोड दिए ।

सांसद डिम्पलकुमारी झाले रौतहटमा आपराधिक गतिविधि बढेकामा चिन्ता व्यक्त गरिन् ।

सांसद चूडामणि विक ‘जंगली’ले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपनि नेपाल आयल निगमले मूल्य समायोजन नगरेकामा आपत्ति जनाउँदै जनताप्रति उत्तरदायी सरकारले जनतालाई आहत पार्ने काम गर्न नहुने बताए ।

सांसद कर्णबहादुर थापाले ‘मुलुकको राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पर्ने कुनै किसिमका सन्धि–सम्झौता भारतसँग गर्न हुँदैन’–भने । रासस