
फाइल फोटो
काठमाडौं, भदौ २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले गरिबी निवारण कोषलाई प्रभावकारी ढंगले अगाडि बढाउन निर्देशन दिएका छन् ।
गरिबी निवारण कोषको ६४औं बैठकमा प्रधानमन्त्री दाहालले आफूले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा गरिबसँग सरकारको कार्यक्रममा हस्ताक्षर गरेको स्मरण गरे र यसलाई प्रभावकारी ढंगले अगाडि बढाउन कोषका पदाधिकारीहरुलाई निर्देशन दिए ।
कोषका उपाध्यक्ष युवराज पाण्डेकाअनुसार प्रधानमन्त्रीले गरिबसँग सरकार कार्यक्रमलाई प्रभावकारी बनाउन कोषले रणनीतिक भूमिका खेल्नुपर्ने निर्देशन दिएका थिए ।
कोषका कार्यकारी निर्देशक नहकुल केसीले कोषले स्थापनाकालदेखि हालसम्म गरेका गतिविधिका साथै आगामी दिनमा कोषले गर्ने कामको विवरण प्रस्तुत् गरेका थिए ।
कोषले हाल देशभर ५५ जिल्लाका ३० हजार सामुदायिक संस्थामार्फत् आठ लाखभन्दा बढी विपन्न परिवारलाई सेवा दिँदै आइरहेको छ ।
यसमध्ये ७८ प्रतिशत महिला, २६ प्रतिशत दलित र २५ प्रतिशत जनजाति रहेको कोषका प्रवक्ता श्रीराम सुवेदीले जानकारी दिए ।
वि.सं. २०६१ देखि सन्चालनमा आएको कोषले हालसम्म रु १८ अर्ब ५३ करोड ७२ लाख सात हजार ३३३ लगानी गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्