ललितपुर, चैत २७ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिका लागि लगानीमैत्री वातावरण निर्माण गर्दै स्वदेशी र वैदेशिक लगानीलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् ।
ललितपुरको पुल्चोक, नटोलमा बुधबार सुरु दोस्रो ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै उनले सो खाँचो औंल्याएका हुन् ।
‘सरकारको आफ्नो स्रोत, वैदेशिक लगानी र निजी क्षेत्रको लगानीसँगै जनतामा रहेका स–साना पुँजी संकलन गरेर गरिने लगानीलाई उच्च प्राथमिकता दिनुपर्दछ’–उनले भने ।
उनले ठूला–ठूला उद्योग, कलकारखानाको स्थापना, जलविद्युत् आयोजना निर्माण, व्यावसायिक तथा आधुनिक कृषि प्रणालीको विकास, पर्यटनको व्यवसायीकरण र पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्नेमा पनि जोड दिए ।
लामो समयदेखि नीतिगत र कानुनी झन्झट, ढिलासुस्ती, अनियमितता, भ्रष्टाचारजस्ता समस्याहरुको सामना गर्दै आएको बताउँदै उपराष्ट्रपति पुनले भने–‘समृद्धि हासिल गर्ने लक्ष्य लिएका हामीलाई अनियमितता र भ्रष्टाचारजस्ता समस्याहरु चुनौती बनेको देखिन्छ ।’
विकास र समृद्धिको शत्रुकारुपमा रहेको भ्रष्टाचार र अनियमितता न्यूनीकरणका लागि आ–आफ्नो ठाउँबाट निरन्तर पहलकदमी र सक्रिय भूमिका निर्वाह गर्न पनि उनले ध्यानाकर्षण गराए ।
‘सुखी नेपाली र समृद्ध नेपाल’को नारालाई यर्थाथरुप दिन स्पस्ट योजना, दृढ इच्छाशक्ति र कडा मेहनतको खाँचो पनि उपराष्ट्रपति पुनले औंल्याए ।
सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुर जिल्ला राजधानीसँगै जोडिएको भएपनि आर्थिक विकास र पूर्वाधारको दृष्टिले पछाडि परेको बताए ।
सरकारले हालै सम्पन्न लगानी सम्मेलनमा ‘सोकेस’मा प्रस्तुत् गरेका ७७ ओटा परियोजनामा ललितपुरको एउटा पनि परियोजना नपरेको उल्लेख गर्दै उनले भने–‘ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि पर्यटकीय पूर्वाधार, होटेल, केबुलकार, साहसिक पर्यटन, हस्तकला क्षेत्रमा लगानीका लागि थुप्रै परियोजनाहरु अघि सार्न सक्थ्यौं । ललितपुरको एउटा पनि परियोजना नहुनु मुलुककै लागि दुर्भाग्यपूर्ण छ ।’
सिंहदरबारको नजरमा ललितपुर सधैंजस्तो यसपटक पनि ओझेलमा परेको अध्यक्ष महर्जनको भनाइ छ ।
उनले भीमसेन मन्दिर पुनःनिर्माणका लागि स्रोत जुटाउनेक्रममा रहेकाले सो कार्यका लागि आवश्यक सहयोग गर्न पनि आग्रह गरे । सो मन्दिर पुनःनिर्माणका लागि पाँच करोड रुपैयाँ लाग्ने संघले जनाएको छ ।
संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले हस्तकला क्षेत्र संकटमा परिरहेको समयमा वर्ल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई विश्वको ३५औं हस्तकला नगरी घोषणा गरिएको उल्लेख गर्दै घोषणाअनुरुप ललितपुर महानगरपालिकाले ठोस काम गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।
ललितपुर उद्योग वाणिज्य महासंघका उपाध्यक्षका किशोर प्रधान, ललितपुर क्षेत्र नम्बर–३ का सांसद पम्फा भुसाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र संघका महासचिव मनोजबहादुर न्याछ्योलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
१०० मध्ये चार देशका ३० ओटा स्टल
मेलामा करिब १०० ओटा स्टलहरु रहेका छन् । भारत, पाकिस्तान, बंगलादेश, चीनलगायत विभिन्न देशको उत्पादित लत्ताकपडा, दैनिक उपयोगी र सजावटका गरी ३० ओटा स्टल रहेका छन् ।
त्यसैगरी, नेपाली हस्तकलाका सामग्री, धातुकला, पस्मिनालगायत ७० ओटा स्टल छन् ।
विभिन्न महिला समूहले उत्पादन गरेका सामग्री पनि प्रदर्शन र बिक्री–वितरणका लागि राखिएको छ ।
संघको ५२औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीतिअनुरुप सो मेला आयोजना गरिएको संघका कार्यकारिणी सदस्य एवं प्रचार–प्रसार संयोजक मिलन शाक्यले जानकारी दिए ।
पाँच दिनसम्म चल्ने मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रमसमेत हुने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्