१२ चैत्र २०७९, आइतबार | Mon Mar 27 2023


कांग्रेस नेताहरु एक ठाउँमा बस्न पनि नसक्ने अवस्थामा


0
Shares

नवीन शर्मा र दिलिप पोखरेल (इमेज)

काठमाडौं, चैत २७ । नेपाली कांग्रेसको आन्तरिक विवाद यति धेरै चुलिइसकेको छ कि नेताहरु अब एक ठाउँमा बस्न पनि नसक्ने अवस्थामा पुगेका छन् ।

यसको पछिल्लो उदाहरण हो, चैत २६ गते आयोजना गरिएको जनआन्दोलन दिवस एवं गणेशमान सिंह स्मृति दिवस कार्यक्रम ।

सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमासमेत कांग्रेस नेताहरु एकजुट हुन नसकेर भिन्दा–भिन्दै स्थलमा कार्यक्रम गरेका थिए ।

एउटै झन्डाभित्र अलग–अलग पार्टीजस्तो अभ्यासमा रहेका कांग्रेसीहरु जिल्ला सभापतिहरुको गुटगत भेलापछि झन् विभाजित बनेका छन् ।

यसको पछिल्लो उदाहरण हो, जनआन्दोलन दिवसका अवसरमा भएका अलग–अलग कार्यक्रम ।

कांग्रेसभित्र पार्टीको वैचारिक धारमा कुनै मतभेद छैन । न त आदर्शमा, न पुराना नेताहरुलाई हेर्ने दृष्टिकोणमा । मात्र विवाद छ त केबल एकार्काको अस्तित्व स्वीकार गर्नै नसक्ने नेताहरुको कार्यशैलीमा ।

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंह यस्ता नेता हुन्, जसलाई सम्मान गर्न कांग्रेसबाहिरका नेताहरुसमेत सदैव तयार हुन्छन् ।

तर, तिनै सर्वोच्च नेताको सम्झनामा मनाइने चैत २६ गतेको जनआन्दोलन दिवसमा नेपाली कांग्रेसकै नेताहरु एकजुट हुन सकेनन् ।

दुई स्थानमा विभाजित भइ फरक–फरक कार्यक्रम गर्नुले कांग्रेस विवादको चित्र थप प्रस्ट पारिदिएको छ ।

पार्टीले गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसजस्तै औपचारिकरुपमा यो दिवसलाई पनि सम्झँदै सम्झेन । सम्झनेहरुले पनि गुटगत भेला गरे र एकले अर्कालाई गाली गर्नैमै समय खर्चिए ।

पार्टीभित्र आफूलाई तेस्रो धारकारुपमा उभ्याउन खोजिरहेका नेता कृष्णप्रसाद सिटौलाले कार्यक्रमबाट पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्को विरोध गरे ।

अर्को कार्यक्रममा नेता प्रकाशमान सिंहले पनि वर्तमान नेतृत्वलाई गाली गर्नमै आफ्नो समय खर्चिए ।

केन्द्रमामात्र होइन, जिल्ला तहमा पनि यस्तै किसिमका कार्यक्रम भए । जसले कांग्रेसका पुराना र इमान्दार कार्यकर्तालाई निराश बनाएको छ ।

नेतृत्व तहले पछिल्ला दिनमा देखाएको प्रवृत्तिले कतै कांग्रेसको संस्थापक इतिवृत्ति र इतिहास नै मेटाउने त होइन भन्ने चिन्ता कांग्रेसमा आस्था राख्नेहरुमा बढ्दै गएको छ ।

भिडियो हेर्नुहोस्