१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


सांसद लिङ्देनलाई ज्यान मार्ने धम्की, नेतासँग पनि ‘संलग्नता’


0
Shares

झापा, चैत २७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको झापाका राजनीतिक दलका नेतासँग पनि संलग्नता रहेको दाबी गरेका छन् ।

बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी उनले गत चैत ७ गतेदेखि मोबाइल र ह्वाट्सएपमा एसएमएस र अडियो सन्देश पठाएर धम्की दिने व्यक्तिको संलग्नता स्थानीय नेतासँग पनि रहेको दाबी गरे ।

एक सातादेखि अज्ञात व्यक्तिले सांसद लिङ्देनलाई ज्यान मार्न ५० लाख रुपैयाँको ‘सुपारी’ लिएको भन्दै फोन आइरहेको विषय सार्वजनिक भएपछि प्रहरी अनुसन्धानकैक्रममा पनि आफूले गृहजिल्ला आएर पत्रकार सम्मेलन गर्नुपरेको उनले बताए ।

झापा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद लिङ्देनलाई म्यासेज र अडियोमार्फत् धम्की आउन थालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले घटनाका विषयमा अनुसन्धान गरिरहेको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायालाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये लिङ्देनलाई धम्क्याउने तिलकदास रहेको अनुसन्धान अधिकारीलाई उद्धृत गर्दै लिङ्देनले जानकारी दिए ।

लिङ्देनले स्थानीय राजनीतिक दलकै नेतासँग पनि पक्राउ परेका व्यक्तिको सम्पर्क भएको र ती नेतालाई आफूले राम्ररी चिन्ने भएकाले धम्कीबाट त्रसित नभइ अचम्ममा परेको बताए ।

ती नेताको नाम भने सांसद लिङदेनले खुलाएनन् ।