
अपडेट
इलाम, भदौ २४ । भारतको कोलकातास्थित खाद्य प्रयोगशालाले नेपाली अदुवामा कुनै विषादी नमिसिएको प्रतिवेदन दिएपछि अदुवा निकासी खुला भएको छ ।
भारतले नेपाली अदुवामा ‘एल्डिकार्ड’ नामक प्रतिबन्धित विषादी फेलापरेको भन्दै ‘भारतीय बजारमा प्रवेश नदिन’ आफ्ना सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो ।
यही परिपत्रका आधारमा करिब दुई सातादेखि कुनैपनि भन्सार नाकाबाट अदुवा भारत छिर्न पाएको थिएन ।
नेपाली व्यवसायीले यसको विरोध गरेपछि भारतीय पक्षले पुनः गुणस्तर परीक्षण गर्न करिब एक हजार किलो नमुना कोलकाता प्रयोगशाला लगेको थियो । त्यसैको रिपोर्टका आधारमा शुक्रबारबाट प्रतिबन्ध हटाइएको हो ।
नेपाल संसारमा चीन र भारतपछि तेस्रो ठूलो अदुवा उत्पादक मुलुक हो । आन्तरिक खपतपछि लगभग सबै अदुवा भारत निर्यात् हुँदै आएको छ ।
गत आर्थिक वर्ष नेपालले ६४ करोड रुपैयाँ बराबरको झन्डै २ करोड ८३ लाख केजी अदुवा भारत निकासी गरेको थियो ।
नेपालबाट निकासी हुने अदुवाको ६५ प्रतिशत बजार कोलकाता हो । बाँकी दिल्लीलगायत अन्य सहरमा खपत् हुने गरेको छ ।
निकासी रोकिँदा इलाम, पाँचथर र ताप्लेजुङका किसानको करोडौं मूल्य बराबरकोे अदुवा गोदाममा थन्किएको थियो ।
प्रतिक्रिया दिनुहोस्