
भक्तपुर, चैत २७ । मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो ।
धेरै वर्षसम्म झार र घाँसले ढोकेको यी पोखरी सरसफाइपछि केही वर्षयता मंसिरमा स्थानीयवासीले धान सुकाउन प्रयोग गर्ने र अन्य समयमा केटाकेटी खेल्ने मैदानकारूपमा परिणत हुँदै आएको थियो ।
तर, निर्वाचनपछि जनप्रतिनिधिको जिम्मेवारी सम्हालेका मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले लिएको संकल्प यतिखेर धमाधम पूरा हुन थालेका छन् । जसमध्ये नमुनाको काम हो, ‘निगु पुखुः’ अर्थात् दुई पोखरीको पुनर्जीवन ।
स्थानीयवासीले यो पोखरीको नेवारी नामसमेत भूलिसकेका थिए । यो ठाउँको नाम नै दुई पोखरी भइसकेको थियो ।
तर, यस वर्षको बिष्का जात्रालाई लक्षित गरी नगरपालिकाले कम्तीमा एउटा पोखरीको पुनःनिर्माण गरी पानी भर्ने संकल्प लिएर गरेको काम सफल भएसँगै बुधबार बिहानबाट पानी भरेर पोखरीलाई पूर्णता दिएको छ ।
पानी भरिएर पुनर्जीवन पाएसँगै ३०० वर्ष पुरानो ऐतिहासिक यो पोखरीको पुरानो नाम ‘निगु पुखुः’ले पनि पुनर्जीवन पाएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठ बताउँछन् ।
करिब ३०० वर्षपहिले गंगा महारानीले दुई पोखरी स्थापना गरी मध्यपुरथिमिवासीलाई पानीको स्रोत दिएको भन्ने जनश्रुति रहेको स्थानीय बताउँछन् ।
नगरपालिकाले आव ०७५÷७६ मा रु ५० लाख बजेट विनियोजन गरे पनि पुनःनिर्माणकाक्रममा भने रु ६० लाख खर्च भएको उपभोक्ता समितिले जनाएको छ ।
निगु पुखुः पुनःनिर्माण तथा गुरुयोजना उपभोक्ता समितिले बिष्का जात्रालाई लक्षित गरी दक्षिणतर्फको पोखरी पुनःनिर्माण सम्पन्न गरेको र अब उत्तरतर्फको पोखरीको पनि पुनःनिर्माण सुरु गरिने उनले जानकारी दिए ।
नगरप्रमुख श्रेष्ठकाअनुसार नगरपालिकाले आगामी तीन वर्षमा पुनःनिर्माण सम्पन्न गर्नेगरी दुई पोखरी पुनःनिर्माणका लागि रु १५ करोडको लागत अनुमान तयार गरेको छ ।
यसअन्तर्गत् पोखरी परिक्रमा गर्न मिल्ने गरी पैदलमार्गमा ८ ओटा फल्चा अर्थात् पाटी निर्माण गरिने भएको छ ।
स्थानीयवासीकाअनुसार राजा महेन्द्र वि.सं. २०१५ मा भक्तपुर आउँदा राजालाई स्वागत गर्न दुई पोखरीको पानी निकालेर मैदान बनाएदेखि पोखरी मैदानमा परिणत भएको हो ।
त्यसपछि पोखरी संरक्षण हुन नसके पनि २०६५ सालमा नगरपालिकाले फलामेबार लगाएर संरक्षणको प्रयास गरेको थियो ।
स्थानीयवासीका लागि पानीको स्रोत र कतै आगलागी भएमा सोही पोखरीको पानी प्रयोग गर्न मिल्ने गरी ठूला दुईओटा पोखरी निर्माण गराएको स्थानीयवासीको भनाइ छ ।
अहिले थिमिकै बोरिङबाट पानी ल्याएर भरिएको र आगामी दिनमा आकाशेपानी संकलन गरी पोखरीलाई जीवित राखिने योजना रहेको छ । रासस
प्रतिक्रिया दिनुहोस्