काठमाडौं, चैत २६ । ‘जनताको जलविद्युत्’ कार्यक्रमअन्तर्गत्को रसुवागढी र सान्जेन जलविद्युत् आयोजनामा लगानीका लागि सर्वसाधारणलाई सेयर निष्कासन गरिने भएको छ ।
रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत् कम्पनीले आउँदो वैशाख ६ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएका हुन् ।
रसुवागढीले निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनामा १०० रुपैयाँअंकित मूल्यमा ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
यस्तै, सान्जेनले रसुवामा निर्माणाधीन सान्जेन र माथिल्लो सान्जेन (५७ मेगावाट) आयोजनाको ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
ऊर्जा मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी यी आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत् रहेको र राम्रो प्रतिफल दिने भन्दै लगानीका लागि सर्वसाधारणलाई आह्वान गरिएको छ ।
ऊर्जामन्त्री वर्षमान पुनले यी आयोजनामा आफूले अधिकतम् कित्ता आवेदन गर्ने बताए ।
साधारण सेयर निष्कासन गरी बाँडफाँट गरेपछि रसुवागढीले स्थानीयका लागि छुट्याइएकोे सेयर निष्कासन गर्ने जनाएको छ ।
सान्जेनले पनि स्थानीयका लागि ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ ।
२०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएको घर पुनःनिर्माण गर्नुपरेकाले तत्काल सेयर खरिद गर्न नसक्ने जनाएपछि स्थानीयले पाउने सेयर तेस्रो चरणमा निष्कासन गर्न लागेको आयोजनाले जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्