
काठमाडौं, चैत २६ । सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालहरु मंगलबार पनि बन्द रहे ।
कर्मचारी समायोजनाको विरोध गर्दै गत शुक्रबारदेखि सरकारी चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा ठप्प पार्दा उपचारका लागि अस्पताल पुगेका बिरामीहरु मर्कामा परेका छन् ।
सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले पाँच दिनदेखि अस्पताल बन्द भइ बिरामीले उपचार नपाउँदासमेत सरकारले बेवास्ता गरेको आरोप लगाए ।
अध्यक्ष डा. पाण्डेले सरकारले आफूहरुको माग सम्बोधन नगर्ने हो भने आफूहरुले एक/दुई दिनमै सामूहिक राजीनामा दिने चेतावनी दिए ।
सरकारी चिकित्सकहरुलाई प्रदेश र स्थानीय तहमा खुम्च्याउने गरी समायोजन गरेको भन्दै आन्दोलनरत् चिकित्सकहरुले आफूहरुको वृत्तिविकास र सरुवा–बढुवासमेत रोकिने बताउँदै आएका छन् ।
स्वास्थ्य मन्त्रालयले भने आन्दोलनरत् चिकित्सकहरुलाई तत्काल काममा नफर्किए कारबाही गरिने जनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्