
अपडेट
काठमाडौं, भदौ २८ । नयाँदिल्लीबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको विमान मंगलबार अवतरणकाक्रममा ठूलो दुर्घटनाबाट जोगिएको छ ।
‘आर ए २०६’ कलसाइनको एअरबस दिउँसो पौने १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणकाक्रममा टायर पन्चर भएको हो ।
विमान अवतरणकाक्रममा धावनमार्गको पहिलो नम्बरमा रहेको अल्फा ट्याक्सी–वेबाट पार्किङ–वेमा आउँदै गरेकोबेला विमानको पछाडि बायाँतर्फको एउटा टायर पड्किएको विमानस्थल स्रोतले जनाएको छ ।
विमानमा सवार र विमानस्थलमा रहेका सबै सुरक्षित नै रहेपनि टायर पन्चर भएका कारण विमान धावनमार्गमै रोकिएपछि विमानस्थल भने केहीबेर अवरुद्ध बनेको थियो ।
दिल्लीबाट १ सय ५८ जना यात्री बोकेर काठमाडौं आएको विमानमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत पनि सवार थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको तयारी सकेर मन्त्री महत स्वदेश फर्कंदै थिए । विमानलाई क्याप्टेन विजय लामा उडाएका थिए ।
प्रतिक्रिया दिनुहोस्