
काठमाडौं, भदौ २८ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणले दुई देशबीच देखिएको असमझदारी हट्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणको तयारीका लागि नयाँदिल्ली गएका मन्त्री महतले भारत नेपालसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउँदै विकास निर्माण तथा अन्य क्षेत्रमा लगानी गर्न उत्साहित रहेको दाबी गरे ।
भारत भ्रमणबाट मंगलबार स्वदेश फर्किएका मन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
तयारी भ्रमणकाक्रममा आफूले पञ्चेश्वर जलविद्युत् आयोजनालाई अघि बढाउने, सीमा क्षेत्रको डुबान समस्या समाधान, दुई देशबीचको विद्युत्व्यापार सम्झौतालगायतका विषय उठाएको र भारत सकारात्मक देखिएको परराष्ट्रमन्त्री महतको भनाइ थियो ।
यी सबै विषयमा प्रधानमन्त्री दाहालको भारत भ्रमणकाक्रममा महत्वपूर्ण सम्झौता हुने बताए ।
परराष्ट्रमन्त्री महतले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउन सकारात्मक रहेको पाएको भन्दै आगामी नोभेम्बरको पहिला साता उनी नेपाल आउने सम्भावना रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्