
उदयपुर, भदौ २९ । राजनीतिक दलबीच विभिन्न वादविवादको बीचपनि अन्तिममा आएर उदयपुर जिल्लालाई १० स्थानीय निकायमा पुनःसंरचना गर्ने सहमति भएको छ ।
आइतबार तथा सोमबारसम्म पनि जिल्लाका राजनीतिक दल स्थानीय निकाय पुनःसंरचनाको संख्यामा आ–आफ्नै अडानमा रहेका थिए । तर, अन्तिममा आएर १० स्थानीय निकाय बनाउने सहमति भएको स्थानीय निकाय पुनःसंरचना समितिका प्राविधिक संयोजक तथा स्थानीय विकास अधिकारी पिताम्बर अधिकारीले बताए ।
जिल्लालाई चारओटा नगरपालिका र छओटा गाउँपालिकामा पुनःसंचना गरेर १० स्थानीय निकाय बनाउनको लागि अन्तिम प्रदिवेदन लेखनको तयारीसमेत भइरहेको स्थानीय विकास अधिकारीले बताएका छन् ।
यसअघि स्थानीय निकायको पुनःसंरचना गर्ने विषयमा नेकपा माओवादी केन्द्रले ११ निकाय, नेकपा एमालेले ९ ओटा र नेपाली कांग्रेसले पनि सातदेखि १० निकाय हुनपर्ने पक्षमा अडान राख्दै आएको थिए ।
यस्तै, साना दलले सातदेखि १३ सम्म निकाय हुनपर्ने अडानमा थिए । अब भने तीनओटा नगरपालिका र ४० गाविस रहेको उदयपुर जिल्लालाई औपचारिकरुपमा १० स्थानीय निकायमा पुनःसंचना गर्न लागिएको पनि समितिका प्राविधिक संयोजक पिताम्बर अधिकारीले बताए । रासस
प्रतिक्रिया दिनुहोस्