
काठमाडौं, भदौ २९ । नेपाली कांग्रेसको भगिनीसंस्था नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।
भृकुटीमन्डपमा आयोजित महाधिवेशनको कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले पार्टीको तर्फबाट पार्टीका हरेक निकायमा महिलालाई विशेष स्थान दिने बताए ।
उनले पार्टीका गलत क्रियाकलापकोविरुद्ध खबरदारी गर्न महिलाहरुलाई आग्रह गरे ।
यस्तै, उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र चरम गुटबन्दी भैरहेको भन्दै त्यसको अन्त्य नभए पार्टीको अस्तित्व समाप्त हुने बताए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्ने कांग्रेस नेताहरुले गाउँदेखि केन्द्रसम्म संगठन व्यवस्थित हुन नसकेको भन्दै त्यसले पार्टीलाई गम्भीर घाटा हुनेतर्फ नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
तीन दिनसम्म चल्ने महाधिवेशनको बन्दसत्र बिहीबार बिहान ९ बजेदेखि भृकुटीमन्डपमा सुरु हुने बताइएको छ ।
नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन भने राष्ट्रिय सभागृहमा गर्ने तयारी रहेको छ ।
महाविधेशनमा निर्वाचित र मनोनीत गरी करिब २ हजार २ सय ४४ प्रतिनिधि सहभागी छन् ।
नेतृत्वका लागि मीना पाण्डे र उमा रेग्मीबीच प्रतिस्पर्धा हुने भएको छ । पाण्डेलाई वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले उम्मेदवार बनाएको हो भने रेग्मी संस्थापन र कृष्ण सिटौला समूहको संयुक्त प्यानलबाट उम्मेदवार बनेकी हुन् ।
रुपन्देही जिल्लाले भने यो अधिवेशनमा सहभागी हुन नपाउने भएको छ ।
२००४ सालमा प्रजातन्त्रको स्थापनाका लागि गठन भएको कांग्रेसको यो तेस्रो ठूलो भगिनीसंस्था हो ।
प्रतिक्रिया दिनुहोस्