
फाइल फोटो
काठमाडौं, भदौ ३१ । सर्वाेच्च अदातलले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्दाको ‘सक्कली फाइल हरायो’ भन्नु सरकारको गैरजिम्मेवारीपूर्ण जवाफ भएको ठहर गरेको छ ।
प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले अदालतको आदेशानुसार माग गरिएको कागजात फाइल सम्बन्धित निकायबाट समयमा अदालतमा पठाउने कार्य नगरी फेलापरेपछि पठाउने भनी गैरजिम्मेवारपूर्ण जवाफ पठाएको भनी असन्तोष व्यक्त गरेको जनाएको छ ।
आदेशमा पूर्वआदेशानुसारको कागजात सात दिनभित्र नपठाएमा न्याय प्रशासन ऐन, २०७३ को दफा ३४ (२) अनुसार कारबाही हुनेसमेत उल्लेख छ ।
अदालतले यसअघि आयोगका प्रमुख कार्कीलाई नियुक्त गर्दाको सक्कल कागजात माग गरेको थियो ।
सरकारले भूकम्पका कारण कागजात हराएको जवाफ पठाएको थियो ।
आयोगका प्रमुख कार्कीको नियुक्ति हुँदा उक्त पदमा अयोग्य व्यक्ति भएको उल्लेख गरी अधिवक्ता ओमप्रकाश अर्यालले २०७० वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए । सो निवेदनलाई अदालतले २०७१ साल असोज ८ गते खारेज गरेको थियो ।
अधिवक्ता आर्यालले आयोगका अध्यक्ष कार्कीविरुद्ध पुनरावलोकन निवेदन हालेका थिए ।
सो पुनरावलोकन निवेदनको सुनुवाइ गर्दै अदालतले सक्कल कागजात माग्ने आदेश गरेको थियो ।
आदेशमा सरकारले भूकम्पमा कागजात हराएको र फेलापरेपछि पठाउने भनी जवाफ पठाएको थियो ।
आयोगका प्रमुख कार्कीको नियुक्ति कानुनसम्मत् भए/नभएको बहस पुनः हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस्