२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार कार्यमा सुधार नआए ठेकेदार हटाइने’


0
Shares

काठमाडौं, भदौ ३१ । एसियाली विकास बैंक (एडीबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार कार्यमा सुधार नआए ठेकेदार कम्पनीलाई हटाउने जनाएको छ ।

एडीबीको नेपालस्थित कार्यालयले शुक्रबार नेपालको म्याक्रोइकोनोमिक अपडेट सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एक महिनाको ‘नोटिस’ ठेकेदार कम्पनीलाई दिएको र काममा सुधार नआए हटाउने तयारी गरेको जनाएको हो ।

एडीबीले विमानस्थल स्तरोन्नतिका लागि १० अर्ब सहयोग गदैछ ।

एडीबीका देशिय निर्देशक किनिची योकोयामाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजना संवेदनशील र महत्वपूर्ण रहेको भन्दै निर्माणको जिम्मा पाएको कम्पनीले सम्झौताअनुसार काम गर्न नसकेको बताए ।

स्पेनिस कम्पनी सान्जोसे कन्स्टोराले यसको ठेक्का पाएको हो ।

एडीबीले सन् २०१७ को सेप्टेम्बर, अक्टोबरसम्म मेलम्चीको पानी काठमाडौं आइपुग्ने पनि जनाएको छ ।

एडीबीले आर्थिक वर्ष २०७३/०७४ सन् २०१७ को आर्थिक परिदृश्य केही मात्रामा आशावादी रहेको जनाएको छ ।

मनसुनमा आएको सुधारले केही आशावादी हुने ठाउँ भएपनि यो भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनाको क्षेत्र र गति, बजेटको कार्यान्वयन र विप्रेषणको आप्रवाहमा भरपर्ने पनि उसले जनाएको छ ।

यी तथ्यहरुलाई हेर्दा सन् २०१७ मा ४ दशमलव ८ प्रतिशतको आर्थिकबृद्धि हुने अनुमान एडीबीको छ ।

एसियामा सबैभन्दा कम प्रतिव्यक्ति आम्दानी भएको देशको बचेट बचतमा चल्नुले बजेट कार्यान्वयनमा पनि पुरानोे गम्भीर समस्या रहेको एडीबीले जनाएको छ ।