२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


आर्थिक वर्ष २०७२/७३ मा धितोपत्रको दोस्रो बजारका परिसूचकहरुमा उल्लेख्य बृद्धि


0
Shares

काठमाडौं, भदौ ३१ । आर्थिक वर्ष २०७२/७३ मा धितोपत्रको दोस्रो बजारका परिसूचकहरुमा उल्लेख्य बृद्धि आएको छ ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार सार्वजनिक गरेको समीक्षा प्रतिवेदनमा यो वर्ष मर्जर तथा प्राप्तीका कारणले सूचीकृत कम्पनीहरुको कुल संख्या घटेको देखिएतापनि नेप्से परिसूचक, कारोबार रकम तथा बजार पूँजीकरण जस्ता अन्य अधिकांश परि सूचकहरुमा उल्लेखनीय बृद्धि भएको जनाइएको हो ।

नेप्से परिसूचक २०७२/७३ असार मसान्तमा १७१८.१५ बिन्दू कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ९६१.२३ बिन्दूको तुलनामा ७८.७४ प्रतिशतको बृद्धि हो ।

२०७२ माघ १ देखि पूर्णस्वचालित कारोबार सुरु भएसँगै दोस्रो बजारको गतिविधिहरूमा उल्लेख्य बृद्धि आएको बोर्डले जनाएको छ ।

समीक्षा वर्षमा धितोपत्रको दोस्रो बजारमा १५ ओटा कम्पनीहरू थप सूचीकृत भएको र एक आपसमा मर्जर तथा प्राप्तिका कारण १८ कम्पनीहरू सूचीकरणबाट हटेकोले कुल सूचीकृत कम्पनीको संख्या २२९ कायम भएको छ ।

गत वर्षमा २३२ रहेको थियो । समीक्षा वर्षमा बजार पुँजीकरणमा १२३.३३ प्रतिशतले बृद्धि भइ रु.१८ खर्ब ९० अर्ब कायम भएको छ । गत आर्थिक वर्षमा ८ खर्ब ४६ अर्ब रहेको थियो ।

यस्तै, कारोबार रकममा १५०.९६ प्रतिशतले बृद्घि भइ रु.१६३.९५ अर्बको कारोबार भएको छ, जबकि अघिल्लो आर्थिक वर्षमा ६५ अर्ब ३३ करोडको कारोबार भएको थियो ।

यसैगरी, समीक्षा वर्षमा दैनिक औसत कारोबार रकम पनि अघिल्लो वर्षको तुलनामा उल्लेख्य दरले बढेको छ ।

दैनिक औसत कारोबार गत वर्षको तुलनामा १३३.२८ प्रतिशतले बृद्धि भइ रु.७०.६६ करोड कायम भएको बोर्डले जनाएको छ ।

गत आर्थिक वर्ष दैनिक औसत कारोबार रकम रु.३० करोड बराबर रहेको थियो ।