
काठमाडौं । ‘पहाडकी रानी’ उपमा पाएको दार्जिलिङ र इलाममा उस्तै प्रकृति छटा, हावापानी र जीवनशैली पाइन्छ । यही पेरिफेरीमा प्रेम फक्रिएको छ । प्रकृति र प्रेमको सुगन्ध यही माटोमा मौलाएको छ ।
प्रेम र सम्पत्तिको तुलना हुनसक्छ या सक्दैन, यसको गर्भिलो उत्तर चलचित्रभित्रै घुमेको छ । रानी(जसिता गुरुङ) र अर्जुन (प्रकाश साह)सँगको विवाहको प्रक्रिया बाबुको इच्छा बमोजिम प्रारम्भ हुन्छ ।
सन्की स्वाभवकी रानी अर्जुनसँग प्रेममा जति डुबेकी छन उती सन्तुष्ट हुन सक्दिनन् ।
रानीलाई पत्तो नदिइ ब्याचलर पार्टी दिनेक्रममा अर्कै केटीसँग सम्बन्ध गाँसेको आँखै अगाडी देखेकी रानीले अर्जुनको प्रेममा स्वार्थ लुकेको प्रष्ट देख्छिन् ।
अर्जुनसँग क्रमिक असन्तुष्ट देखिएको रानी सन्की तर प्रेमिल छिन् । अर्जुनसँग टाढिने मुढमा रहेकी रानीको भेट सागर(प्रदीप खड्का) सँग हुनपुग्छ ।
गायकका रुपमा देखिने सागर ‘लभ स्टेसन’ नामक रेष्टुरेन्टमा गीत गाउँछन् । पहिलो पटक बाटो काट्नेक्रममा सागरलाई देखेकी रानीले रेष्टुरेन्टमा गीत गाउनेक्रममा भेट्छिन् ।
सागरको गायकी र मायालु ब्यवहारबाट रानीको मन विस्तारै पग्लिन थाल्छ । घुमफिर, रोमान्स र सुखदुखका गफमा भुलिदै नजिकिएका सागर र रानी पनि विस्तारै टाढिन्छन् ।
पारिवारिक दबाबका बाबजुत रानीको विहे अर्जुसँगै हुने निश्चय हुन्छ । तर विहे मन्डपबाटै रानी सागरसँग भाग्छिन् । यहीबीच द्वन्द्वको अवस्था सिर्जना हुन्छ ।
सुन्दर चिया बगानबीचको घरमा बच्चा जन्माउँदाको प्रसव पीडा, ‘जन्मदाग’को महत्व, सन्तानप्रति आमाको माया चलचित्रमा मजाले प्रस्टाइएको छ ।
शिशु अवस्थामै अपहरणमा परेको रानी, अपहरण गर्ने बाल पात्रको रुपमा देखिएको सागरको भूमिका क्लाइमेक्समा पुग्दा निकै रोमान्चक बन्न पुग्छ ।
आफ्नै श्रीमतीबाट बच्चा नभएका कारण रानीको बाबुको भूमिका देखिएका रमेश बुढाथोकी र अर्जुनबीचको सम्पत्ति हत्याउने जालझेल र षडयन्त्र रानी(जसिता)कै कारण सफल हुन सक्दैन ।
सहयोगी भूमिकामा देखिएको सागर(प्रदीप) र रानी(जसिता)बीचको पवित्र प्रेमको अभिनय चलचित्र ‘लभ स्टेसन’मा देख्न पाइन्छ । छोराछोरीको प्रेम र विहेमा बाधक बन्ने बाबु–आमाको भूमिका चाहीं अन्य केही चलचित्रसँग मिल्दो पाइन्छ ।
लेखकले यस्ता केही मोडमा गल्ती गरेकै छन् । उज्वल घिमिरेले निर्देशनमा सबल भूमिका निर्वाह गर्न सके पनि केही केही ठाउँमा चुकेका छन् । परिवेश अनुसारको मौलिकता, दार्जिलिङ र इलामको जीवनशैलीलाई हुबहु प्रस्तुत गर्न नसक्नु कमजोरी देखिन्छ । क्यामेरा र लोकेशनका दृष्टिकोणमा तारिफ गर्ने चलचित्र बनेको छ ।
आशाको रुपमा बर्षेनी रुखमा बाँधिने कपडाले नयाँ सन्देश बोकेको छ । पहाडी भेग र चियाबारीबीचमा हिंडडुलका लागि प्रयोग गरिएको साइकल सुहाउँदिलो छैन । तर दार्जिलिङको सानो रेलको प्रयोग सुहाउँदिलो नै छ ।
चलचित्रमा प्रेम, रोमान्ससँगै जिम्मेवारी समेटिएको पाइन्छ । युवा पुस्ताको सोच, शैली, संघर्ष, सपना र दायित्वलाई समेट्ने प्रयास गरेको निर्माण पक्षले गरेको छ
उज्ज्वल घिमिरे निर्देशित चलचित्रमा प्रदिप खड्का र जसिता गुरुङको अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारहरुको अभिनय देख्न पाइन्छ ।
काफिया फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । फिल्मलाई काफिया शाही र कविर बिक्रम शाहीले निर्माण गरेका हुन् ।
आलोक शुक्लाको छायाँकन रहेको फिल्मको गीतमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ ।
दुई करोड माथि कारोबार
शुक्रबारबाट सोलो प्रदर्शनमा आएको चलचित्र ‘लभ स्टेसन’ले एकसाता नबित्दै दुई करोड माथि कारोबार गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
देशभरका १ सय ४ पर्दामा प्रदर्शन भइरहेको चलचित्र प्रदर्शन देखिनै पानीझरी र बर्षाका कारण केही समस्या भए पनि हलमा दर्शकहरु झुम्मिएको प्रस्तुतकर्ता तथा निर्माण टिमका गोविन्द शाहीले जानकारी दिए ।
स्वेदशमा मात्र होइन, विदेशमा पनि दर्शकले रुचाएका छन्’ उनले भने, ‘अधिक मेहेनत गरेर दर्शकको मन जित्नेगरी चलचित्र निर्माण गरेकाले प्रदर्शनबाट हामी सन्तुष्ट छौं ।’
प्रतिक्रिया दिनुहोस्