
काठमाडौं, असार ६ । विदेशमा मृत्यु भएका मध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । अझै १६४ शवको व्यवस्थापन बाँकी रहेको सरकारले जनाएको छ ।
ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ४० जनाको शव नेपाल ल्याइएको हो । बिहीबार मात्रै २४ जना नेपालीको शव नेपाल ल्याइएको थियो ।
अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक/एक जनाको शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको पनि बोर्डले जनाएको छ ।
बोर्डले कोरोनाको कारण उडान नहुँदा शव ल्याउन समस्या भएपछि विदेशमै अन्त्येष्टिका लागि अनुमति दिन परिवारसँग अनुरोध गरेको थियो । जस अनुसार ११४ जना मृतकका परिवारले अनुमति दिएको बोर्डले जनाएको छ ।
विदेशमै अन्त्येष्टिका लागि अनुमति दिनेका परिवारलाई सान्त्वना राहत स्वरुप ५० हजार रुपैयाँ सरकारले उपलब्ध गराउने बताएको छ । बोर्डका अनुसार विदेशमा अझै १६४ जनाको शव बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्