काठमाडौं, चैत २१ । राष्ट्रिय योजना आयोगले तयार पारेको मुलुक विकासको पञ्चवर्षीय आधारपत्र पारित भएको छ ।
राजधानीमा बुधबार र बिहीबार दुईदिनसम्म चलेको राष्ट्रिय विकास परिषद्को बैठकले आयोगले तयार पारेको १५औं पञ्चवर्षीय योजना पारित गरेको हो ।
आयोगले तयार पारेको आर्थिक वर्ष ०७६/०७७ देखि ०८०/०८१ सम्मको विकास रणनीतिको मस्यौदामाथि बैठकमा छलफल भएको थियो ।
आधारपत्रमा आगामी पाँच वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।
हाल ५.९ प्रतिशत रहेको आर्थिक वृद्धिदर आगामी पाँच वर्षमा बढेर १०.३ पुर्याउने लक्ष्य आधारपत्रमा निर्धारण गरिएको हो ।
बहुआयामिक गरिबीको दरलाई पाँच वर्षमा १४ प्रतिशतमा झार्ने लक्ष्य सरकारको योजनामा छ ।
यसैगरी, ११.४ प्रतिशत रहेको बेरोजगारको दरलाई पाँच वर्षमा ४ प्रतिशतमा झारिने, एक हजार ७४ मेगावाट विद्युत् उत्पादनलाई पाँच हजार मेगावाट पुर्याउनेजस्ता ३३ ओटा सूचकहरुको लक्ष्य निर्धारण गरिएको छ ।
पाँच वर्षमा समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिस्कृत जीवनसहितको समाजवादउन्मुख लोककल्याणकारी राज्यकारुपमा रुपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार तयार पार्ने योजनाको लक्ष्य छ ।









प्रतिक्रिया दिनुहोस्