Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


शनिबार एमालेको चियापान, राष्ट्रपतिलाई निम्तो


0
Shares

काठमाडौं, असोज २८ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ लगायतका पर्वका अवसरमा शनिबार आयोजना गर्ने चियापान कार्यक्रमको तयारी पुरा भएको जनाएको छ ।

पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएअनुसार चियापान कार्यक्रमका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि निमन्त्रणा पठाइएको छ ।

कार्यक्रमका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सांसदहरु, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक र सुरक्षा निकायका अधिकारीलाई निम्तो गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै, पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, सहिद परिवार, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत सङ्घसंस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्तालाई निमन्त्रणा कार्ड पठाइसकिएको एमाले सचिव तथा प्रचार विभाग प्रमुख भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिका साथै कूटनीतिक क्षेत्रका व्यक्तित्वलाई समेत कार्यक्रममा आमन्त्रण गरिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, धुम्बाराही अगाडि रहेको शङ्खपार्कमा दिउँसो १२ देखि ३ बजेसम्म कार्यक्रम आयोजना हुने जनाइएको छ । कार्यक्रमको व्यवस्थापन र सुरक्षाको सबै तयारी पुरा भएको विज्ञप्तिमा उल्लेख छ ।

एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले सुरु गरेको चियापनलाई पार्टीले निरन्तरता दिँदै आएको छ ।

Skip This