
काठमाडौं, असोज २८ । इन्डोनेसियाको जकार्तामा भएको छैटौं तफिसा वर्ल्ड स्पोर्ट्स फर अल गेम्सअन्तर्गत भएको दोश्रो जोरखाने फेस्टिभल च्याम्पियनसिपको पुरुष कुस्ती ८०–९० केजीमा नेपालका मुकेशकुमार ठाकुरले रजत जितेका छन् ।
अक्टोबर ६ देखि १२ तारिखसम्म भएको प्रतियोगिताअन्तर्गत मुकेशको स्पर्धामा १७ खेलाडी सहभागी थिए । १७ खेलाडीलाई दुई समूहमा विभाजन गरी नकआउट आधारमा खेलाइएको थियो ।
मुकेशले पाकिस्तान र इराकका खेलाडीलाई पराजित गरे । फाइनलमा मुकेश इरानका खेलाडीसँग चुकेपछि स्वर्णबाट वञ्चित भए ।
भारत र अजरबैजानका खेलाडी संयुक्त रुपमा तेश्रो भए । पर्सा निवासी २४ वर्षीय मुकेशको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
प्रतियोगितामा नेपालबाट मुकेशसहित ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । बाँकी सबै पदकविहीन रहे । कुस्तीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) तथा १७ औं इन्चोन एसियाडमा सहभागी सुमिरकुमार साहले पुरुष ९० केजीमाथि तथा कुन्दन साहले ५०–६० केजी तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए ।
कुन्दनले जोरखानेमा पनि भाग लिएका थिए । कुन्दनसहित जोरखानेमा सहभागी अन्य खेलाडी अनुजसिंह श्रेष्ठ, मिलन राना मगर, कमल श्रेष्ठ र अनन्त अर्यालले विभिन्न व्यक्तिगत र टिम इभेन्टमा नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
जोरखानेमा समग्रमा नेपाल चौथो स्थानमा रह्यो । नेपालले ७३ अंक जोड्यो । इरान १ सय ५१ अंकसाथ पहिलो र अजरबैजान १ सय ४० अंकसाथ दोश्रो भए । ९९ अंकसाथ इराक र ८० अंकसाथ अफ्गानिस्तान संयुक्त रुपमा तेश्रो भए । टोलीको प्रशिक्षकमा रविन घिमिरे तथा अफिसियलमा नेपाल जोरखाने खेलकुद संघका उपाध्यक्ष सूर्य बुढाथोकी रहेका छन् ।
जोरखानेमा विभिन्न २६ राष्ट्रका १ सय ७८ खेलाडीले सहभागिता जनाएको अन्तर्राष्ट्रिय जोरखाने खेलकुद महासंघका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी सम्राटले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्