फाइल फोटो
भक्तपुर, असोज २९ । वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले ठूला तीन दल मिलेर सहमति र सहकार्यका साथ अगाडि नबढे देश गम्भीर संकटमा पर्ने बताएका छन् ।
शुभकामना बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा एवं संयुक्त क्षेत्रीय भेलामा उनले संविधान कार्यान्वयनमा तीन दल मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।
‘संविधान जारी गर्ने मुख्य ठूला तीन दलबीच सहमति र सहकार्य गर्दै अगाडि नबढे संविधान कार्यान्वयन हुन सक्दैन’–उनले भन्नुभयो–‘राजनीतिक दलका नेताले आफ्नो स्वार्थ त्यागेर मुख्य तीन दल मिलेर सहकार्य र सहमतिका साथ अगाडि बढ्नुपर्छ, अन्यथा जनआन्दोलनबाट पाएको सबै उपलब्धि गुमेर देशको दुर्गति हुन्छ ।’
मन्त्री भण्डारीले विदेशी षड्यन्त्र र दलका नेताको कमी–कमजोरीका कारण देश संकटमा परेको बताउँदै ‘मधेसवादी दललाई सहमतिमा ल्याउन सरकारले गरेको प्रयास सफल पार्न एमालेको सहयोग आवश्यक रहेको छ’–भने ।
मधेसवादी दलको मागलाई सम्बोधन गर्न कांग्रेस, एमाले र माओवादी केन्द्र तीनै दल मिलेर संविधान संशोधन गर्नुपर्ने बताउँदै उनले भने–‘यो संविधान संशोधनको दस्तावेज हो, यसलाई संशोधन गर्दै लैजानुपर्छ, राष्ट्रियता र देशको अखन्डतालाई आँच नआउने गरी संविधान संशोधन गर्नुपर्छ, यसमा एमालेको सहयोग चाहिन्छ ।’
मन्त्री भण्डारीले २०७४ माघ ७ गतेसम्म मात्र वर्तमान सरकारको वैधानिकता रहेको चर्चा गर्दै त्यो मितिसम्म तीनओटै निर्वाचन गर्ने जिम्मेवारी सरकारले पूरा गर्न नसके देश संकटमा पर्ने धारणा राखे ।
कार्यक्रममा संस्थामा आवद्ध ज्येष्ठ नागरिक, एसएलसी र ‘प्लस टु’ उतीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो । रासस









प्रतिक्रिया दिनुहोस्