Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्ने वातावरण बनाउन प्रधानमन्त्रीको आग्रह


0
Shares

गोवा (भारत), असोज २९ । प्रधानमन्त्री पुष्पकमल दाहालले भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्ने वातावरण तयार गर्न भुटान सरकारसँग आग्रह गरेका छन् ।

ब्रिक्स सम्मेलनमा भाग लिन शनिबार गोवा आएका प्रधानमन्त्री दाहाल र उनका समकक्षी छिरिङ तोब्गेसँगको भेटमा उनले भुटान फर्कन चाहने शरणार्थीको चाहनालाई सम्बोधन गर्न आग्रह गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले शरणार्थी समस्याको समाधानले दुई देशबीचको सम्बन्धलाई अझ बढी उचाइमा पुर्‍याउने उल्लेख गर्दै त्यसका लागि उपयुक्त वातावरण बनाउन आग्रह गरेको भेटमा सहभागी परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

उनकाअनुसार प्रधानमन्त्री दाहालले दुई देशका साझा समस्यालाई आपसी सहयोग आदान–प्रदान गरी समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने विषयमा वार्ता गरेका थिए ।

त्यसैगरी, प्रधानमन्त्री दाहालले प्रधानमन्त्री तोब्गेसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन गर्ने उपयुक्त वातावरण बनाउने सम्बन्धमा पनि छलफल गरेका थिए ।

उनले सार्कलाई गति दिनका लागि दुई देश मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएको परराष्ट्रसचिव शंकरदास बैरागीले जानकारी दिए ।

साथै, नेपाल, भारत, भुटान र बंगलादेशसहितको सार्क उपक्षेत्रीय समूहका मुलुकले उर्जा, पर्यटनलगायतका क्षेत्रमा मिलेर अगाडि बढ्न र त्यसका लागि साझा धारणा तय गर्ने विषयमा पनि छलफल भएको थियो ।

भेटघाटकाक्रममा भुटानी प्रधानमन्त्री तोब्गेले द्विपक्षीय हितका विषयमा भुटान सकारात्मक रहेको र शरणार्थीका विषयलाई चाँडो समाधान गर्न पहल गर्ने बताएका थिए ।

भेटमा परराष्ट्रमन्त्री डा. महत, परराष्ट्रसचिव बैरागी, भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाललगायतको उपस्थिति थियो ।

‘ब्रिक्स बिमस्टेक आउट्रिच सम्मेलन’मा सहभागी हुन १८ सदस्यीय नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै शनिबारै प्रधानमन्त्री दाहाल गोवा आइपुगेका हुन् । रासस

Skip This