Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


दसैंमा यान्त्रिक पुलको कमाइ साढे १० लाख रुपैयाँ


0
Shares

पर्वत, कात्तिक १ । मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यस वर्षको दसैंमा रु १० लाख ४१ हजार आम्दानी गरेको छ ।

केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैंको प्रतिपदादेखि पूर्णिमासम्म रु आठ लाख ४१ हजारको कारोबार गरेको हो ।

कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले दिएको जानकारीअनुसार दसैंको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म कारोबार उत्साहजनकरुपमा भएको हो । यसपटक दसैंमा यान्त्रिक पुलबाट १३ हजार २७६ जनाले वारपार गरेका छन् ।

गत वर्ष यान्त्रिक पुलबाट प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म यात्रा गर्ने यात्रीबाट रु १० लाख ८३ हजार आम्दानी भएको थियो ।

यस वर्ष पनि उत्साहजनकरुपमा आम्दानी गर्न सफल भएको यान्त्रिक पुल लिमिटेडका कार्यालय प्रमुख चिरञ्जीवी रेग्मीले जानकारी दिए ।

पर्वत सदरमुकाम कुश्मा बजारबाट बागलुङ जिल्लाको बलेवा पुग्नका लागि पैदलमार्गबाट झन्डै एकघन्टा लाग्ने गर्छ । यान्त्रिक पुलको सन्चालनसँगै एकघन्टाको यात्रा करिब सात मिनेटमा छोट्टिएको छ ।

केबलकार मोडेलमा निर्माण गरिएको उक्त पुलबाट यात्रा गर्नका लागि एकतर्फी भाडा रु एक सय तोकिएको छ भने बागलुङ जिल्लाको बलेवा क्षेत्रका बासिन्दाका लागि रु ७५ तोकिएको छ ।

सो पुल गाउँघर र पहाडी क्षेत्रमा यात्री ओसारप्रसार गर्न तथा कृषिउपज र अरु सामग्री ढुवानीका लागि सबैभन्दा उपयुक्त माध्यम बन्नसक्ने देखिएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए ।

‘गाउँमा कच्चीसडक खन्नुभन्दा यस्तै यान्त्रिक पुल र केबलकार निर्माण गर्ने हो भने धेरै सहज हुन सक्छ’–उनले भने–‘हाम्रोजस्तो पहाडी भू–भागका लागि यो नै अतिउत्तम विकल्प हो, सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्छ ।’

पर्वत उद्योग वाणिज्य संघको पहलमा यान्त्रिक पुल निर्माण भएको हो । रासस