-डिबी विष्ट/ईमेज
बझाङ । बझाङको निर्माणाधीन देवल विमानस्थलको कालोपत्रे गर्ने काम सुरु भएको छ ।
विगत दश वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल स्थानीय र जनप्रतिनिधिको पटकपटकको दबाबस्वरुप कालोपत्रेको काम सुरु भएको हो ।
बझाङको सदरमुकामस्थित अलपत्र विमानस्थल कालोपत्रे गर्नको लागि नागरिक उड्डययन प्राधिकरणले ठेक्का दिएपछि कालोपत्रेको काम धमाधम चलिरहेको छ ।
खेलमैदान र चरन क्षेत्रको रुपमा उपयोग हुँदै आएको विमानस्थल सञ्चालनका लागि कालोपत्रे गर्न थालेपछि स्थानीयवासी निकै उत्साहित भएका छन् ।
उसै त सडक सुविधाको समस्या त्यसमाथि विमानस्थल अवरुद्ध हुँदा आकस्मिक अवस्थाका बिरामीहरु उपचार नपाएरै ज्यान गुमाउनुपरेको विकराल स्थिति कायमै छ । विमानस्थल सुचारु भएपछि बिरामीलाई कम जोखिम र यात्रा गर्न सहज हुने आशामा स्थानीय उत्साहित छन् ।
अमर कन्स्ट्रक्सनलाई विमानस्थलको कालोपत्रे गर्ने जिम्मेवारी दिइएको छ ।
करिब नौ करोडको लागतमा गत साउनमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
निर्माणको काम तीव्र रुपमा भइरहेको र स्थानीयको पनि पर्याप्त सहयोग मिले तोकिएको समयमै काम सम्पन्न हुने कन्स्ट्रक्सनका साइड प्रतिनिधि महेन्द्र खड्काको भनाइ छ ।
अर्कोतिर ठेकेदारले आफ्नै सुरमा काम गरे पनि नागरिक उड्ययनले प्रतिनिधि नपठाएकाले केही संशय पैदा भएको स्थानीयले गुनासो गरेका छन् ।
२०३५ सालबाट साप्ताहिक उडान भइरहेको विमानस्थल २०६५ सालमा बन्द भएको थियो ।
सदरमुकाममा सडक जोडिएपछि बन्द भएको विमानस्थल यसबीचमा अलपत्र अवस्थामा रहेको थियोे ।









प्रतिक्रिया दिनुहोस्