
काठमाडौं, चैत १९ । १२औं विश्व अटिजम जनचेतना दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाल अटिजम सोसाइटीले मंगलबार काठमाडौंको वसन्तपुरमा अटिजम भएका बालबालिकाको सहभागितामा यो दिवस मनाएको हो ।
कार्यक्रममा अटिजम भएका बालबालिकाको र्याम्प शो, सांगीतिक प्रस्तुति र नृत्य गरेका थिए ।
नेपालमा तीन लाख बालबालिकामा अटिजम भएको अनुमान छ ।
अटिजम भनेको नसाको सही विकास नभएको अवस्था हो । यस्तो समस्या भएका बालबालिकाले सामान्य बालबालिकाभन्दा फरक किसिमका व्यवहार देखाउने गर्छन् ।
कुनै क्रियाकलाप दोहोर्याइरहने, दोहोरो संवाद नगर्ने, एकोहोरिने, राम्रोसँग बोल्न नसक्ने, शब्दहरु दोहोर्याइरहनेजस्ता लक्षणहरु अटिजम भएका बालबालिकामा देखिन्छ ।
अटिजम भएको १८ महिनादेखि दुई वर्षको उमेरमा थाहा पाउन सकिन्छ ।
परिवारको साथ र सहयोग तथा विभिन्न थेरापीहरुबाट उनीहरुको व्यवहारमा परिवर्तन ल्याउन सकिने चिकित्सकहरुको भनाइ छ ।
कार्यक्रममा वसन्तपुर दरबार क्षेत्रको गद्दी बैठकमा नीलो रङको बत्ती बालेर अटिजम समस्याबारे सबै जानकार हुन आह्वानसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्