बिराज रोस्यारा (इमेज)
कैलाली, असार ६ । कैलालीको गोदावरी नगरपालिकाले शनिबारदेखि पूर्णरुपमा ‘लकडाउन’ लागू गरेको छ ।
कोरोना संक्रमण तीव्ररुपमा फैलनसक्ने अनुमान गर्दै रोकथाम र न्यूनीकरणका लागि पूर्णरुपमा लकडाउन गरिएको नगरपालिकाका मेयर हरिसिंह साउदले जानकारी दिए ।
असार ६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाभित्र पूर्णरुपमा लकडाउन लागू गरिएको उनले बताए ।
मेयर साउदले सबै बजार क्षेत्र बन्द गरिएको र अत्यावश्यक सेवा तथा कार्यालयको आन्तरिक कामबाहेक अरु सबै सेवा बन्द गरिएको जानकारी दिए ।
यस्तै, समूह बनाएर हिँड्न नपाइने र नगरपालिकाभित्र रहेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था बन्द गरिएको पनि उनले जानकारी दिए ।
संक्रमण बढ्दै गएको र एकजनाको मृत्युसमेत भएको घटनालाई मध्यनजर गरी लकडाउन गरिएको मेयर उनले बताए ।
गोदावरी नगरपालिका–७ का ४६ वर्षीय पुरुषको गएको बुधबार कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको थियो । नगरपालिकामा हालसम्म वडाध्यक्षसहित नौजनामा कोरोना पुष्टि भएको छ ।









प्रतिक्रिया दिनुहोस्