Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


पहिलो महिला सगरमाथा आरोही जुन्को तावेईको निधन


0
Shares

काठमाडौं, कात्तिक ६ । पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ ।

जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारकाक्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ ।

जापानी टेलिभिजन ‘एनएचके’ले पनि तावेईको निधन भएको खबर लेखेको छ । तावेईलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो ।

जापानको फुकुसिमामा जन्मिएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकी पहिलो महिला आरोही बनेकी थिइन् ।

तावेईको तीन दिनअघि निधन भएको खबर जापानी माउन्टेनरिङ एसोसिएसन र अल्पाइन क्लबले जानकारी गराएको नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष आङ्छिरिङ शेर्पाले राससलाई जानकारी दिए ।

नेपाल र नेपालीलाई धेरै माया गर्ने, पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेलेकी तावेईको निधनले नेपालको पर्वतीय पर्यटनमा ठूलो क्षति पुगेको उनले बताए ।

‘आरोहणको क्षेत्रमा उहाँ (तावेई)ले धेरै राम्रो काम गर्नुभएको छ, वातावरण संरक्षण र पर्वतारोहणमा पनि उहाँको योगदान छ, नेपालले असल मित्र गुमाएको छ, यसले हामीलाई दुःखित तुल्याएको छ’–अध्यक्ष शेर्पाले भने ।

जुन्को तावेई गत अप्रिल ३० मा काठमाडौंमा भएको मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन जापानी आरोहीको नेतृत्व गर्दै नेपाल आएकी थिइन् । रासस