Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


हावाहुरीले प्राधिकरणको १५ करोडको क्षति, मंगलबारसम्म विद्युत् सन्चालन गरिने


0
Shares

काठमाडौं, चैत १८ । आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ ।

बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारणलाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ ।

संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ ।

वीरगन्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको सदरमुकाम कलैयामा विद्युत् आपूर्ति नियमित रहेको छ ।

हुरी–बतासका कारण परवानीपुर–वीरगन्ज ६६ केभी डबल सर्किट प्रसारणलाइनमा क्षति पुगी विद्युत् आपूर्तिमा समस्या आएको छ ।

यस्तै, वीरगन्ज–कलैया ३३ केभी प्रसारणलाइनमासमेत क्षति पुगेका कारण विद्युत् आपूर्तिमा समस्या आएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।

भारतबाट विद्युत् आयात हुने १३२ केभी रक्सौल–परवानीपुर प्रसारणलाइनको ठूलो टावरसमेत क्षतिग्रस्त भएको छ । सोही कारण विद्युत् आपूर्तिमा समस्या आएको छ ।

कलैया वितरण केन्द्रअन्तर्गत्को विद्युत् प्रणालीमामात्र एक हजार ५०० खम्बा ढलेका छन् ।

क्षतिग्रस्त भएका प्राधिकरणको संरचना तत्काल मर्मत गरी विद्युत् आपूर्ति नियमित गराउनका लागि प्राधिकरणको हेटौंडास्थित क्षेत्रीय कार्यालयको टोली तथा बारा र पर्साको टोली हुरी प्रभावित क्षेत्रमा पुगेका छन् ।

हेटौंडा क्षेत्रीय कार्यालयका प्रमुख नवराज सुवेदीले सोमबार साँझसम्म केही स्थानमा र मंगलबार अबेरसम्म सकेसम्म सबै स्थानमा विद्युत् आपूर्ति गर्ने तयारीमा प्राधिकरण जुटेको जानकारी दिए ।

हावाहुरीले प्राधिकरणका तार चुँडेका छन् भने ट्रान्सफर्मरसमेत लडेर क्षति पुगेको प्राधिकरणको हेटौंडा क्षेत्रीय कार्यालयले जनाएको छ ।

प्राधिकरणले कलैयास्थित सबस्टेशन आइतबार नै चन्द्रनिगाहपुर सबस्टेशनबाट चार्ज गरी बजार क्षेत्रमा विद्युत् आपूर्तिको व्यवस्था मिलाएको छ ।

दुवै जिल्लामा गरी दुई हजार बढी खम्बा लडेको प्रमुख सुवेदीले जानकारी दिए ।

विद्युत् प्रणालीमा क्षति पुगे पनि विद्युतीय दुर्घटना हुन नदिन प्राधिकरणले सजगता अपनाएको जानकारी दिँदै प्राधिकरणका प्रवक्ता अधिकारीले दैवी–प्रकोपबाट हुन पुगेको प्रणाली सुधार गर्न सबै प्रकारको साधन र स्रोत परिचालन गरिएको बताए ।

बारा र पर्साका क्षेत्रबाहेक देशभर विद्युत् प्रणालीमा कुनैपनि समस्या नरहेको प्राधिकरणले स्पस्ट पारेको छ । रासस